बंगलादेशसँग दक्षिण अफ्रिका पराजित, शकिब बने नायक

एजेन्सी । बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा ओपनर क्विन्टन डी ककलाई २३ रनमा गुमाएको थियो । एडेन मार्करामसँग रनको तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए ।
२० ओभरको चौथो बलमा सकिब अल हसनले एडेनलाई ४५ रनमा बोल्ड आउट गरे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । २७ ओभरको चौथो बलमा मेहेदी हसन मिराजले कप्तान फाफ डु प्लेसिसलाई ६२ रनमा बोल्ड आउट गरे । उनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । डेविड मिलरले ४३ बलमा २ चौका प्रहार गर्दै ३८ रनमा आउट भए । ४० ओभरको पहिलो बलमा मोहम्मद सैफुद्दीनले रस्सि भान डर डुसेनलाई ४१ रनमा आाउट गरेपछि अफ्रिकाको जित कठिन बनेको थियो । उनले ४३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
null
तल्लोक्रममा जेपी ड्यूमिनीले ३७ बलमा ४ चौका सहित ४५ रनमा बोल्ड आउट भए । क्रिस मोरिस १० रनमा आउट हुँदा कागिसो रबाडा १३ र इमरान ताहिर १० रनमा अविजित रहे । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सैफुद्दीनले २,सकिब अल हसन र मेहदी हसनको नाममा समान १ विकेट रह्यो । त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनाएको थियो ।
विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो । बंगालदेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले सर्वाधिक ७८ रनको महत्वपूर्ण योगदान दिए । ४३ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा रहिम रस्सी भान डर दुसेनबाट क्याच हुनुअघि ८० बलमा ८ चौका प्रहार गरे । त्यस्तै ३६ ओभरको पहिलो बलमा इमरान ताहिरले बोल्ड आउट गर्नु अघि सकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७५ रन बटुले ।
सकिब र मुश्फिकुरले तेस्रो विकेटका लागि १ सय ४२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बंगलादेश बलियो योगफल सम्म पुर्याए । त्यसअघि ओपनर सौम्य सरकार र तामिम इकवालले पहिलो विकेटका लागि ८।२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्डिले फेहलुकवेओले तामिमलाई १६ रनमा विकेटकीपर क्विन्टन डीककबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । १२ ओभरको चौथो बलमा क्रिस मोरिसले डी ककबाट उत्कृष्ट क्याच आउट गराउँदै पेभिलिएन फर्काउनु अघि ३० बलमा ९ चौका प्रहार गर्दै ४२ रन जोड्दै आक्रमक सुरुवात दिलाए ।
तल्लोक्रममा महमुदउल्हा र मोसाद्दिक हसनले पनि उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिदै आक्रमक रुपमा रन जोडेपछि बंगालदेशले विशाल योगफल तयार पारेको हो । महमुदउल्हाले ३३ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै मोसाद्दीकले २० बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । अफ्रिकाका लागि एन्डिले फेहलुकवेले, इमरान ताहिर र क्रिस मोरिसको नाममा समान २ विकेट रह्यो ।








