कर्णाली विकास आयोगले हिल्सा नाकाको अध्ययन गर्ने

काठमाडौ, जेठ १ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ ।

हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको हो ।

आयोगले विज्ञका रुपमा डा. हरि रोकालाई छनोट गरेको छ ।

उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्र लगायतको संरक्षण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा-सिमीकोट-हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको प्रयोजन छ ।

त्यहाँ हुने चोरी निकासीलाई न्यूनीकरण गर्न पनि नाका क्षेत्रका विभिन्न स्थानमा भन्सारको व्यवस्था गर्न सोही अध्ययनमार्फत सुझाव दिइने छ ।

करीब सात लाखको लागतमा सम्पन्न गरिने उक्त अध्ययन चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोगका सूचना अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *