बेन्जेमाकाे ह्याट्रिकमा रियलकाे सहज जित

एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमाले रोमाञ्चक ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित निकालेको छ । आइतबार भएको लिगको ३३औं साताको खेलमा रियलले पाहुना टोली एथ्लेटिक बिल्बाओमाथि ३–० को जित निकालेको हो ।
आफ्नो घर सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियललाई जिताउन बेन्जेमा नायक बने । ३ वटै गोल उनले नै गरेका थिए । त्यत्ति मात्रै हैन, बेन्जेमाले २ वटा गोल दर्शनीय तरिकाले हेडिङमार्फत् गरेका थिए ।
null
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले दोस्रो हाफको ४७औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । मार्को एसेन्सियोको पासमा बेन्जेमाले बक्सभित्रबाट बिल्बाओका २ जना डिफेन्डरको बीचबाट हेडिङ गर्दै बललाई जाली चुमाएका थिए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा रियलका लागि बेन्जेमाले नै दोस्रो गोल गरे । यसपटक पनि उनले हेडिङबाटै गोल गरे । पहिलो गोल पोस्टमा माथिल्लो कुना च्यापेर गरेका उनले दोस्रो हेडिङ भने तल्लो कुना च्यापर हानेका थिए । जसमा गोलरक्षकले उनको प्रहार रोक्ने मौका नै पाएनन् ।
त्यसपछि खेलको ९०औं मिनेटमा बेन्जेमाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे । बिल्बाओका डिफेन्ड र गोलरक्षक अगाडि बढेका बेला बेन्जेमाले खाली पोस्टमा सहजै गोल गरेका थिए । सो गोलमा ग्यारेथ बेलले पास दिएका थिए ।
यो जितसँगै रियलले ३३ खेलबाट कूल ६४ अंक बनाएको छ । ऊ अब दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ४ अंकले पछि छ ।








