जफत गरिएको मदीरा कहाँ जान्छ भन्सार प्रमुख ज्यू !

करिब दश दिन भयो त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भंसार कार्यालयले विदेशबाट झिटि गुण्टा बोकेर स्वदेश फर्कने नेपालीहरुलाई भारी मात्रामा मदिरा जन्य पदार्थ ल्याउन कडाइ गरेको ।
यस अन्तर्गत एक जना यात्रुले १ लिटर सम्मको १ बोतल सम्म मात्र मदिरा लिएर आउन पाउने ब्यबस्था छ ।बढि लिएर आएमा जफत गर्ने प्रावधान छ । भंसार तिर्न पनि पाईदैन । उल्टै मदीरा ल्याउनेलाई कारवाही पनि हुन्छ ।जफत (सिज) गर्दा लिएर आउने ब्यक्तिबाट सोहि बराबरको क्षति पुर्ति भराउने समेत ब्यबस्था छ । यो कानून राजश्व छलीको रूपमा फौजदारी कानून अन्तर्गत पर्दछ ।
तर, त्रिभुवन विमानस्थल भंसार कार्यालयले लिएर आउनेको नाम र पासपोर्ट उल्लेख नगरी यात्रुहरूलाई फौजदारी कसुरबाट बचाउँदै जफत गरीएको मदीरा खातामा चढाउने गरेको छ । यसरी खातामा चढाइएको मदीरा कहाँ जान्छ ? कसैले चासो दिएका छैनन् । भन्सार कार्यालयका कर्मचारीले जफत गरिएका मदीरा र अन्य सामानहरुको तथ्यांक राखिने र पछि लिलाम हुने बताएपनि अहिलेसम्म कहिले कसरी लिलाम भयो आम जनतालाई थाहा छैन ।
null
यो कानून कार्यान्वयन गर्ने क्रममा धेरै जसो खाडी मुलुकबाट आउने कामदार पिडामा परेका छन् । नेपालको कानुन प्रष्ट रुपमा नबुझेका उनीहरुले तोकीएको मात्रा भन्दा बढि मदीरा बोकेर आउने गरेका छन् । ती मदिरालाई भन्सारका कर्मचारीले जफत गरेर नष्ट गर्नुको सट्टा आफ्ना घर र हाकीमका कोठामा पुर्याउने गरेका छन् । खाडी मुलुकमा मदिरा पिउन प्रतिबन्ध रहेको भएता पनि ती मुलुकहरूका अन्तराष्ट्रिय बिमानस्थलमा रहेका मदिरा पसलमा पाइने (ड्युटी फि) छुट सहितका मदिरा लिएर आउनेहरू पर्ने गरेका छन ।
यात्रुले ठाडै विमानस्थलका कर्मचारीलाई आरोप लगाउँछन्, ‘यो रक्सी तिमीहरु खान्छौं, तिम्रा हाकीमहरुले खान्छन्’
उनिहरूको गुनासो छ कि, हामीलाई थाहा भएन । सरकारले जानकारी दिएन ।
तर, भंसार कार्यालय भन्छ, यो कानून प्रत्येक बर्षको बजेट भाषणमा उल्लेख हुन्छ । कानून, कुनै पनि मानिसले थाहा भएन भनेर कहिँ पनि छुट पाउँदैन, मिल्दैन । छुट हँुदैन । प्रविधिको प्रयोगले मानविय संवेदनामा छुट दिँदैन ।
उपत्यकामा ट्राफिक प्रहरीले मापसे चेकिङ गरे जस्तै भंसार कार्यालयले बोतल चेकिङ गरेर कडाई गरेर तीसौं हजार पर्ने मदीरा भन्सारले खाइदिँदा प्रवासी नेपालीहरु अमिला मन बनाएर निस्कनु परेको छ । यदी सरकारले प्रवासी नेपालीलाई मदीरा ल्याउने सन्दर्भमा विदेशकै विमानस्थलमा जानकारी लिन सक्ने ब्यवस्था गरे उनीहरुको पैसा बचत हुन्थ्यो की ?
मदीरा ल्याउने कानुन प्रष्टरुपमा सर्वसाधारणले जान्न पाउनुपर्छ । तर, हामी कहाँ कानुन कसरी बुझाउने र ?
विदेशका विभिन्न विमानस्थलमै ड्युटी फि (ट्याक्स) मदीरा बर्गेल्ती पाइन्छन् । विदेशमा बर्षौ बसेका नेपाली घर फर्कँदा परिवार र आफन्तलाई विभिन्न कोसेली ल्याउने क्रममा मदीरा पनि ल्याउने गर्दछन् ।
१ जनाको साथमा १ लिटरको १ बोतल भन्दा बढी मदिरा लिएर आउने सबैको जफत भएका छन ।
कतिपय यात्रुले आफुले ल्याएको मदीरा नदिए त्यहीँ फुटाउने, पोखाउने भनेपनि विमानस्थलका कर्मचारीले त्यसो गर्न दिन्नन् । अनी यात्रुले ठाडै विमानस्थलका कर्मचारीलाई आरोप लगाउँछन्, ‘यो रक्सी तिमीहरु खान्छौं, तिम्रा हाकीमहरुले खान्छन्’
यात्रुहरुले कर्मचारीलाई आरोप लगाउनु पनि स्वभाविक हो, त्रिभुवन विमानस्थलबाट दिनहुँ विदेशबाट आएका नेपालीको एक नएक थोक सामान हराएकै हुन्छ । चकलेट, लत्ताकपडा, घरायसी सामान हराउनु नौलो कुरा हैन । यहाँ सम्मकी विदेशमा बस्दा आफुले प्रयोग गरेका सामान समेत नेपालको विमानस्थलमा उत्रिसक्दा हराएका छन् । विमानस्थलमा सामान हरायो भनेर उजुरबाजुर गर्नुस तपाई आफैं प्रहरीको लफडामा पर्नुहुन्छ । उजुरी गर्ने वित्तिकै खोजतलास गर्ने भएपो उजुरी गर्नु अनेक झन्झट आइलाग्छ ।
विमानस्थलबाट कतिबेला बाहिर निस्कूँ र परिवार आफन्तको अंगालोमा बाधियूँ भन्नेहरु साना तिना चकलेट र सामानको पछि लाग्ने कुरा पनि भएन । यहि इमोसनल ब्ल्याक मेल गर्दै त्रिभुवन विमानस्थलका कर्मचारीहरु मोटाइरहेका छन् । दिनहुँ विदेशको मरुभूमिमा घोटिएका हातको कमाई लुटिइरहेको छ ।
अष्ट्रेलिया, क्यानडा, अमेरिका जस्ता विकसित देशमा बसेका विदेश भ्रमणमा गएकाहरुले ल्याएका ब्राण्डेड मदीरा छुटाउन ती यात्रुहरु हदैसम्म गर्छन् । खाडि मुलुकबाट बाकसमा लास नबनी हातमा रक्सी लिएर आउनेहरू एक छिन असन्तुष्टी पोखेर सरकारलाई गाली गर्दै बाटो लाग्ने गरेका छन ।
भन्सार कार्यालयले पारदर्शी भएर यात्रुहरुलाई सुचना प्रवाह गर्दा यात्रुहरुले कर्मचारीलाई ठाडै, ‘तिमीहरु खान्छौं, हाकिमलाई दिन्छौं’ भनेर आरोप लगाउँदैनथे कि !








