गणेश नेपालीको घटना नागरिकको जीवनसँग जोडिएको विषय हो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई झस्काएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले उक्त घटनालाई अत्यन्तै पीडादायी क्षणको संज्ञा दिँदै गणेश नेपालीप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो’ उनले लेखेका छन् ।

थापाले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय बनाउन नहुने बताएका छन् । यो एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको उनको भनाइ छ ।

‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो’ उनले भनेका छन् ।

उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सबैले आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

थापाले विगत र वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन् ।

उनले एउटा युवा किन निराशाको यस्तो बिन्दुसम्म पुग्छ र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन् ।

राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि कतिपय नागरिकले राज्यकै सामु आफूलाई असहाय महसुस गर्नु गम्भीर विषय भएको थापाको भनाइ छ ।

उनले समाज, परिवार, राज्य र नागरिकका रूपमा आफूहरू कहाँ चुके भन्ने विषयमा इमानदार समीक्षा गर्नुपर्ने बताएका छन् ।

‘यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ’ थापाले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =