सौराहा फुड फेस्टिवल सुरुः एक स्थानीय तह एक पर्यटकीय गन्तव्य– मन्त्री नेपाल

माघ २८, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा आज (मंगलबार) देखि फुड फेस्टिवल सुरु भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको आयोजनामा सिसुवार चौरमा सुरु भएको फेस्टिवलको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे । 

सो अवसरमा मन्त्री नेपालले पर्यटनलाई जनतासंग जोड्नकै लागि प्रदेश सरकारले होमस्टेको अवधारणा अघि सारेको बताए । मन्त्री नेपालले प्रदेशको प्रत्येक स्थानीय तहमा एक पर्यटकीय गन्तव्य बनाउन प्रोत्साहन गरिरहेको पनि जानकारी गराए । साथै उनले लुकेर बसेका पर्यटकीय गन्तव्यहरुको विकास गर्नुपर्ने बताए । 

१४ औं सौराहा फुडफेस्टिवलका संयोजक धु्रव गिरीले खानासँगै संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न फेस्टिवल आयोजना गरिएको बताए ।  

प्रेम दिवसको अवसर पारेर रेवानले प्रत्येक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ । उक्त फेस्टिवलमा सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई, रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट, थारु कल्याणकारीणी सभा चितवनका सभापति ललित चौधरी, रेवान महिला समुहकी अध्यक्ष माला दाहालले मन्तव्य राखेका थिए ।  

सो फेष्टिवलमा ४० वटा खानाका स्टलहरु रहने छ । फेस्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेस्टिवलका संयोजक धु्रव गिरीले बताए ।  

फेष्टिवल अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए । 

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फेस्टिवल अन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डारी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन ।  

प्रेम दिवसको दिन फेस्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसामध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डँै साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेस्टिवलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =