ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

काठमाडौं, चैत १९ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उद्घाटन हुनेछ । १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा परियोजना बन्न लागेको हो ।

परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिनेछ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघि नै परियोजना विकास सम्झौता (पिडिए) भइसकेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ ।

यससँगै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तत्काल नहुने संकेत देखिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलद्यिुत् आयोजना उद्घाटनका लागि मोदीले नेपाल भ्रमण गर्ने तयारी थियो । दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार गत असोजमा मोदी यी प्रयोजनका लागि नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, १८ असोजमा एमाले र माओवादीबीच वाम गठबन्धन घोषणापछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमणको तयारी नै रोकिएको थियो । मोदीले त्यही प्रयोजनसहित जनकपुर, मुक्तिनाथ र लुम्बिनीसमेत जाने गरी चैत अन्तिम साता नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, ओलीको राजकीय भ्रमणकै वेला अरुण तेस्रोको उद्घाटन गर्ने तय भएसँगै मोदीको भ्रमण तत्काल नहुने कूटनीतिक स्रोतले बतायो । आगामी मंसिरभित्र नेपालमै आयोजना हुने बिमस्टेकको सम्मेलनमा भने मोदी सहभागी हुनेछन् ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

अमेरिकी नागरिकद्धारा आत्महत्या

काठमाडौं । वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।

भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।

थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो । आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

२२ हजार प्रहरीको थप दरबन्दी रोकियो

काठमाडौं – संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ ।

प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ दरबन्दी माग गरेको थियो । प्रहरीबाट माग भएबमोजिमको थप दरबन्दी कार्यान्वयन हुँदा मुलुकलाई ठूलो आर्थिक भार पर्ने देखिएपछि गृहले फाइल अघि नबढाएको हो ।

प्रहरीले माग गरेको थप दरबन्दीबारे गृहले अर्थ र संघीय तथा सामान्य प्रशासन मन्त्रालयसँग परामर्श गरेको थियो । दुवै मन्त्रालयले प्रहरीमा २२ हजार दरबन्दी थप्न नहुने राय दिएका थिए ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले प्रहरीबाट माग भएको २२ हजार नयाँ दरबन्दीसम्बन्धी फाइल अघि नबढेको बताए । उनले भने, ‘प्रहरीबाट २२ हजार नयाँ दरबन्दी माग भएको फाइल गृहमा छ ।

मुलुकको आवश्यकताअनुसार दरबन्दी थप हुनुपर्छ । अहिले माग भएबमोजिमको दरबन्दी आवश्यक हो या होइन अहिले नै भन्न सकिने अवस्था छैन । यसमा अध्ययन हुँदै छ ।’

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले आवश्यकता देखिएपछि नै नयाँ दरबन्दी माग गरिएको बताए । उनले भने, ‘करिब २२ हजार प्रहरीको दरबन्दी माग गरिएको छ ।

एआइजीदेखि सिपाहीसम्मको दरबन्दी माग भएको हो । संघीय संरचनामा त्यति प्रहरी आवश्यक छ । त्यसमा केही संख्या तलमाथि हुन सक्छ ।’

गृहका अनुसार प्रहरीले गाउँपालिकामा कम्तीमा प्रहरी निरीक्षकको दरबन्दी हुनुपर्ने भनेको छ । त्यसमा सइ, असइ, हवल्दार र सिपाही गरी कम्तीमा ३५ जना आवश्यक पर्ने भनिएको छ ।

मुलुकमा अहिले ४ सय ६० गाउँपालिका छन् । प्रत्येक गाउँपालिकामा कम्तीमा ३५ जना प्रहरी खटाउँदा १६ हजार एक सय दरबन्दी आवश्यक देखिन्छ ।

नगरपालिका भएको जिल्लामा जिल्ला कमान्डर कम्तीमा डिएसपी हुनुपर्ने भनिएको छ । डिएसपी कायम भइसकेको जिल्लाको हकमा कम्तीमा एसपीको दरबन्दी हुनुपर्ने भनिएको छ । एसपी कायम भइसकेको जिल्लाको हकमा भने कम्तीमा एसएसपीको दरबन्दी कायम गरिनुपर्ने माग छ ।

आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

विद्यार्थी तान्न ‘ब्राण्ड’ चोरी: विद्यार्थी पर्छन् समस्यामा

काठमाडौं – निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ।

विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’ चोरेर विद्यालय खोलिँदा पहिले नै स्कुल खोलेर चिनिएका वा स्थापित भइसकेका विद्यालय मारमा पर्छन् नै, सँगै विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी र परीक्षार्थी समेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन् हो भनेर दोधारमा पर्ने गरेका छन्।

यस्तै घटना भएको छ, राजधानी काठमाडौंमा। महाराजगन्जमा ३२ वर्षदेखि सञ्चालन भइरहेको ‘काठमाडौं भ्याली स्कुल’ को नाम चोरेर काठमाडौंकै छाउनीमा ‘काठमाडौं भ्याली स्कुल’को नाममा अर्को स्कुल स्थापना भएको छ। दूरीको हिसाबले टाढा रहे पनि कानुनविपरीत एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिएको छ।

एउटै नाममा अर्को स्कुल खोल्दा आफ्नो स्कुलको ‘ब्रान्ड’ मै समस्या आएको महाराजगन्जस्थित भ्याली स्कुलका प्रिन्सिपल कर्मा तेन्जिङले बताए। आफ्नो स्कुलसँग जुध्ने नाम राखी छाउनीमा अर्को स्कुल खोलिएको विषयमा स्वयं स्कुल सञ्चालक, जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयमा समेत पटक पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको तेन्जिङको गुनासो छ।

‘एक पटक हाम्रो स्कुलमा एमबीबीएसको परीक्षा दिन आउने विद्यार्थी झुक्किएर छाउनीमा रहेको स्कुलमा पुगेछन्। गलत केन्द्रमा पुगेका उनीहरू परीक्षा सुरु हुनुअघि नै हतार गरेर महाराजगन्ज आउन सफल भए’, तेन्जिङले भने, ‘यस्तै अन्य विषयको परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थी गलत केन्द्रमा पुगेर यहाँ आउँदा ढिलो भएको उदाहरण प्रशस्तै छन्।’

छाउनीस्थित स्कुलले पत्रिकामा विज्ञापन छापेपछि झुक्किएर बिल भुक्तानी लिन आफ्नो स्कुलमा आउने गरेको पनि उनले बताए। ‘स्तरीय शिक्षा दिन सकिन्छ भने नाम जुधाएर स्कुल खोल्न आवश्यक छैन। हामीले पटक पटक नाम सच्याउन अनुरोध पनि ग¥यौं। तर अहिलेसम्म सार्वजनिक रूपमा विज्ञापन वा अन्य प्रचारप्रसार गर्दा हाम्रो स्कुलसँग मिल्ने नाम नै कायम छ’, उनले भने।

आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *