हाम्रो सामाजिक विखण्डनको ठेक्का अमेरिकालाई दिन मिल्दैन : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नाममा देश विखण्डनको ठेक्का अमेरिकालाई दिन नसकिने बताएका छन् ।
एमसीसी तथा लिम्पियाधुरा, कालापानी लिपुलेकमाथिको कब्जा र राष्ट्रिय स्वाभिमानको प्रश्न विषयक सर्वपक्षीय अन्तरक्रियामा रावलले एमसीसीले देशमा विखण्डन ल्याउने भन्दै त्यसको जिम्मा अमेरिकालाई दिन नसकिने बताएका हुन् ।
उनले नेपालको कानूनले नै स्पष्ट रुपमा सीमान्तकृत र पछाडी परेका समुदायको विषयमा व्यख्या गरेको बताउँदै भने, ‘सीमान्तकृत को ? पछाडि परेको को ? त्यो ब्याख्या गर्ने काम नेपालको हो । हाम्रो कानूनले गरेको छ । हामी कुनै देशलाई निम्ता गरेर को सीमान्तकृत हो ? को पछाडी परेको हो भनेर हाम्रो सामाजिक विखण्डनको ठेक्का हामी दिन सक्छौ ? दिन मिल्छ ? मिल्दैन ।’
null
सम्झौताका बुँदाहरुमा अमेरिकामा भविष्यमा बन्ने कानूनको उल्लंघन भएमा वा अमेरिकाको हित विपरित कृयाकलाप गरेमा सम्झौता बदर हुने भन्ने विषयमा मान्न नसकिने रावलले उल्लेख गरे ।
उनले भने, ‘अमेरिकाको वर्तमान वा भविष्यमा लागू हुने कानून उल्लंघन गरेमा र राष्ट्रिय हित विपरितका कृयाकलाप गरेमा यो सम्झौता बदर हुनेछ भनेको छ । यो कस्तो आश्चर्यको कुरा हो ? आजको कानून मात्रै होइन, उसले भविष्यमा बनाउने काूनन पनि नेपालमा लागू हुने ? यस्तो कुरा प्रष्ट देख्दादेख्दै । ठिक छ भनेर तर्क दिने मानिसहरु नेपालको भूमिमा टेकिरहेको ठानेका छन् कि कुनै देशले अन्तरिक्षमा पठाएको स्याटेलाइटमा यात्रा गर्छु भनेर ठानेका छन् । मलाई आश्चर्य लागेको छ ।’
रावलले सार्वजनिक रुपमै एमसीसीमा भएका बुँदाहरु राष्ट्रहित विपरित भएको भन्दै विरोध जनाउँदै आएका छन् ।








