नेपाल बैंकद्वारा मानव कल्याण समाज (सेवा घर) लाई तीन लाख सहयोग

कात्तिक २७, काठमाडौं । नेपाल बैंक लिमिटेडले स्थापनाको ८३ वर्षको अवसरमा भक्तपुर स्थित मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण–८ भक्तपुरलाई ३ लाख सहयोग रकम प्रदान गरेको छ ।
आज सेवा घरमा आयोजित एक कार्यक्रममा बैंकका प्रदेश ३ का प्रमुख सुन्दर पन्थीले सेवा घरकी सञ्चालिका सुमित्रा चौलागाईलाई तीन लाख बराबरको चेक हस्तान्तरण गरे । उनको कार्यक्रममा बोल्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप सेवा घरलाई यस पटक सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने जनाए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रबन्धक अनुप अर्याल, मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट, बरिष्ठ प्रबन्धक उज्वल पोखरेल, राम गोपाल श्रेष्ठ, सहायक प्रबन्धक जिबराज लगायतको उपस्थिति रहेको थियो । दुई वर्ष अघि स्थापना भएको मानव कल्याण समाजमा हाल तीन दर्जन बढी सडक मानवहरुले आश्रय लिइरहेका छन् ।

संस्थाले काठमाडौंका विभिन्न सडकमा नारकीय जिवन ब्यतित गरिरहेका मानवलाई उद्दार गरेर उनीहरुलाई गाँस बास कपास र उपचारका साथै उनीहरुको परिवार भएकालाई पुर्नस्थापना समेत गर्दै आइरहेको छ ।
हालसम्म यो संस्था सामाजिक भावना भएका विभिन्न दाताहरुको सहयोगबाट चलिरहेको संस्थाकी सञ्चालिका सुमित्रा चौलागाईले बताइन् । उनले आफ्नो लक्ष्य मुलुकलाई नै सडक मानव मुक्त बनाउने अभियान रहेको बताउँदै हातेमालो गर्न आग्रह गरिन् ।








