मन्त्री अधिकारीलाई सांसदको प्रश्न, भ्रष्टाचारकाे छानबिन नगरदिए हुन्थ्यो भनेको हो ?

मंसिर १९, काठमाडौँ । वाइडबडी जहाज खरिद प्रकरणमा सांसदहरुले भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट देखिएको बताउँदै यसमा मन्त्रालय र निगमको मिलेमतो देखिएको आरोप लगाएका हुन् ।
null
बैठकमा समितिका सभापति भरतकुमार साहले वाइडबडी विमानको मूल्यबारे प्रश्न उठाए । ‘९३.०५ मिलियन डलरमा आउनुपर्ने विमानको मूल्य किन १०८ मिलियन डलर पर्यो ?’, उनले प्रश्न गरे ।
नागरिक लगानी कोष र सञ्चय कोषले के आधारमा निगमलाई रकम दिएको भन्दै सांसदहरुले आक्रोश समेत पोखेका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा मन्त्रालयले निगमकै कर्मचारीहरुलाई छानबिनको जिम्मेवारी दिएको भन्दै बैठकमै विरोध भएको छ ।
यता संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको बताए । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने उनको भनाइ थियो । उनले यस विषयमा लेखा समितिले पनि सहयोग गर्नुपर्ने बताए ।
मन्त्री अधिकारीले लेखा समितिले सहयोग गर्नुपर्ने बताएलगत्तै सांसद अमनलाल मोदीले आक्रोश पोखे।‘समितिले सहयोग गर्ने भनेको के हो ? हामीले भ्रष्टाचार गरेका छौँ, छानबिन नगरदिए हुन्थ्यो भनेको हो कि भ्रष्टाचारलाई अनुमोदन गरिदिनुहोस् भनेको हो ?’, उनले प्रश्न गरे ।
मन्त्री अधिकारीले एनएसीको सेयर बढाउनुपर्ने पनि बताए । उनले बैठकमा साझेदार, पार्टनर खोज्ने वा सेयरको कित्तामात्र बेच्ने लगायतका विषयमा छलफल अगाडी बढाइएको जानकारी दिएका थिए ।
सांसद तेजुलाल चौधरीले स्ट्रटेजिक पार्टनर अहिले नै खोज्नुपर्ने कारण माग्दै वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको छ। पहिले भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भने ।
अधिकांश सांसदहरुले वाइड बडी खरिद प्रकरणमा महालेखा परीक्षकले देखाएको वेरुजु मन्त्रालय गम्भीर नभएको उल्लेख गर्दै यस प्रकरणमा मन्त्रालय र निगमको मिलेमतो देखिएको आरोप लगाए।








