सरकारले जारी गरेको अध्यादेश संविधानको मर्म विपरीतः काँग्रेस

वैशाख ९, काठमाडौं। नेपाली काँग्रेसले सोमबार सरकारले जारी गरेका अध्यादेश फिर्ता लिन अपिल गर्न निर्णय गरेको छ। सरकारले ‘राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी’ अध्यादेश सोमबार जारी गरेको थियो।   

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले विरोधाभासपूर्ण र षड्यन्त्रपूर्ण ढङ्गले अध्यादेश ल्याइएको निष्कर्ष निकालेको छ। स्थिरताको लागि परिकल्पना गरेर केही विशेष प्रावधान गरिएको संवैधानिक मर्ममाथि अध्यादेशले प्रहार गरेको काँग्रेसले जनाएको छ।   

‘कतिपय महत्त्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले विशिष्ट व्यवस्था गरेको थियो। तर संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको त्यो मर्म र भावना एवं परिषद्को गरिमामय भूमिकालाई समाप्त गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैठकले यो अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गर्ने निर्णय गरेको छ।’ 

दुई अध्यादेश संविधानको मर्म विपरीत र अधिनायकवादी सोचका साथ आएको ठहर काँग्रेसको छ। ‘जनता लकडाउनमा कष्टकर स्थितिमा छन्, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढङ्गले कोरोनासँग जुधिरहेका छन्, यस्तो बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिस्ट सरकारको नियोजित नियत ठहर बैठकले गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =