क्रिसमस : नेपालमा यसरी भएको थियो ईसाई धर्मको सुरुवात

पुस ९, काठमाडौं । भनिन्छ, करिब २००० वर्षअघि मानवजातिको पाप मोक्षका लागि जिसस क्राइष्ट (येशु ख्रिष्ट) को जन्म भयो ।   

उनको जन्म मिति यकिनका साथ यो दिन नै हो भन्न सकिँदैन । तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर भनेर तोकेका छ , पूर्वभरि नै यही मिति अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसकेपछिको नौ महिना पछि भएकोले छानिएको भन्ने अनुमान छ ।   

इस्वी संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने, केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । 

क्रिसमसमा विश्वभरीका अधिकांश देशहरुमा सार्वजनिक बिदा दिइने गरिन्छ, जहाँ ख्रिष्टीयनहरुको बाहुल्यता छैन, त्यहाँ पनि बिदा दिइएको पाइन्छ ।   

जन्म मिति यकिन नभए पनि आज विश्वभर भव्यताका साथ ‘क्रिसमस डे’ मनाइँदैछ । विशेषगरी ईसाई धर्मालम्बीहरुले येशु ख्रिष्टको सम्झनामा क्रिसमस मनाउने गर्दछन् । तर पछिल्लो समय अन्य धर्मालम्बीहरुले पनि यसलाई एक उत्सवकै रुपमा मनाउने गरेको पाइन्छ । प्रस्तुत छ यी नै विषयमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराजसँग गरिएको कुराकानी : 

ईसाई कस्तो धर्म हो ? ख्रिष्टियन र क्रिसमस बिच कस्तो सम्बन्ध छ ?   

येशु ख्रिष्टको सम्झनामा मनाइन्छ । यो २०१९ वर्षअघि येशु ख्रिष्ट मानव जातिको पाप क्षमा, मुक्ति र उद्धारका लागि मानिसको रुप लिएर धर्तीमा आउनुभयो ।  सारा मानवजातिका मुक्तिदाताको रुपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराउनका लागि हाम्रो मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशू ख्रीष्टको जन्म भएको हो । 

त्यही दिन पारेर इस्वी संवत ३३६ बाट रोमबाट रोमी सरकारले त्यसको वैधानिक आधारहरु समेत खोजेर क्रिसमस डे मनाउन सुरु गरेको हो । अहिले संसारमा अन्य चाड भन्दा क्रिसमस उत्सवका रुपमा सबैभन्दा धेरै मानिसहरुले मनाउँछन् । सबैभन्दा बढी मानिसहरुले मनाउने उत्सव हो क्रिसमस ।   

नेपालमा यो धर्मको विस्तार कसरी भयो ? सुरुवात कसले गरेका थिए ?   

नेपालमा ४ सय वर्षअघि काठमाडौंको भाद्गाउँबाट ईसाई धर्मको सुरुवात भएको पाइन्छ । त्यो समय नेवार समुदायका ७६ जनाले एकै पटक येशु ख्रिष्टलाई ग्रहण गरेको इतिहास छ ।   

हाल नेपालमा १२ हजार ५ सय भन्दा बढी चर्चहरु छन् । ३० लाख भन्दा बढी ईसाई धर्मालम्बीहरु छन् ।   

नेपालमा ईसाई धर्मालम्बीहरुले विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गर्न लगाएको आरोप छ नि ?   

पहिलो कुरा त जबरजस्ती कसैलाई गर्नु हुँदैन । र बाइबलले पनि जबरजस्ती गर भनेको छैन । यसो गर्न पाइँदैन पनि । यी सबै हचुवाका आरोपहरु हुन् ।   

आफ्नो आस्थाको प्रचारप्रसार गर्न पाउने संवैधानिक व्यवस्था नै छ । नागरिकहरुले स्वतन्त्र रुपमा धर्म अवलम्बन गर्न पाउँछन् । त्यसका अभ्यास, संरक्षण गर्न पाउँछ ।   

पछिल्लो समय प्रलोभन, दबाब र प्रचार प्रसारको आरोपमा सामग्रीसहित कयौँलाई प्रहरीले पक्राउ गरेको प्रमाण येथेष्ट छैन र ?   

आरोप लगाउने कुरा एउटा भयो अर्को क्रिस्चियनको नामलाई बदनामी गराउन लागि परेको देखिन्छ । जो क्रिश्चियन छैनन्, उनीहरुले क्रिश्चियनलाई बदनाम गराउन यस्ता गतिविधि गरेको हुन सक्छ । वास्तवमा साँचो क्रिश्चियनले त्यस्तो गर्नु हुँदैन, गर्दैनन् पनि ।   

राष्ट्रिय ख्रिष्टियन महासंघ यसैका लागि खडा भएको हो । स्वच्छ तरिकाले नेपाली क्रिश्चियन समुदाय स्वाभिमान अधिकार सम्पन्न भएर बाँच्नुपर्छ । जात, धर्म फरक भएपनि हामी सबै नेपाली हौँ । एकले अर्कोलाई आरोप लगाउने, होच्याउने गर्नु हुँदैन ।   

ईसाई धर्मभित्र पनि जातिय विभेद भयो भन्ने सुनिन्छ, यो सत्य हो ?   

ईसाई धर्मभित्र सबैलाई समान व्यवहार गरिन्छ । कुनै भेदभाव हुँदैन । येशु ख्रिष्टलाई विश्वास गर्ने मानिसहरु सबै समान हुन् । सबै उनैका सन्तान हुन् ।   

ईसाई धर्मालम्बी सबै एउटै जाति हौँ । विभेद छैन ।   

तपाईँ पनि पहिले हिन्दु हुनुहुन्थ्यो नी हैन, धर्म परिवर्तन किन गर्नुभयो ? 

मेरो आमा म भन्दा पहिले नै क्रिश्चियन हुनुहुन्थ्यो । पछि उहाँलाई क्यान्सर रोग लाग्यो । त्यतिबेला म एकदमै क्रिश्चियन विरोधी थिएँ । यसलाई विदेशी धर्मको रुपमा लिन्थेँ । 

 आमालाई क्यान्सर भएपछि पाटन अस्पताल भर्ना ग¥यौं । डाक्टरले मृत्युको घोषणा गरिसकेको थियो । तर पार्थना गरेपछि आमा जिवित हुनुभयो । परमेश्वरको त्यस्तो आश्चर्य काम देखेपछि मैँले पनि प्रभुलाई ग्रहण गरेँ । मुक्ति दाताका रुपमा उहाँलाई स्वीकार गरेँ । अहिले हामी सबै परिवार क्रिश्चियन छौँ । बाइबल पनि पढ्छु ।   

म हिन्दु हुँदा मैँले गिता, ऋग्देव, भागवत, पुराण सबै पढेको छु । तर वास्तविक मुक्ति, उद्धार, शान्ति, प्रेम चाहीँ मैँले बाइबलमा पाएँ । र त्यसैमा विश्वास गरेँ ।   

म ईसाई हुँ तर धर्म र धर्मग्रन्थहरुलाई म सम्मान गर्दछु । जुनसुकै धर्मले पनि चोरी गर्न, लुट्न, व्यभिचार गर्न, हत्या गर्न वा नराम्रो काम गर्न सिकाउँदैन । त्यसैले मेरो हृदयमा सबैलाई सम्मान छ ।   

ईसाई धर्मले राष्ट्रिय उत्थानमा विशेष भूमिका निर्वाह गर्छ भन्ने दाबी गर्दै आउनुभएको छ, कसरी ? 

जब मानिसको मस्तिष्कमा शान्ति हुन्छ, उसको चेतनाको विकास हुन्छ । अनि देशलाई समृद्ध बनाउनतिर लागि पर्छ । पहिले ऊ आफू सचेत र शान्त हुनुपर्यो । त्यसपछि न विकासको कुरा हुन्छ ।  ।   

तपाईँले हेर्नुभयो भने क्रिश्चियन समुदायले शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै ठुलो योगदान गर्दै आएको छ । स्वास्थ्यको क्षेत्रमा पनि उत्तिकै योगदान गरेका छौँ । विकास निर्माणको क्षेत्रमा धेरै ठुलो योगदान छ । राष्ट्र निर्माणमा पनि मद्दत पुर्याउँछ । राष्ट्रप्रति उसले प्रेम गर्छ ।   

चर्चहरुलाई विदेशी डोनेसनहरु प्रशस्तै आउँछन् । यसलाई ख्रिष्टियन समुदायले पारदर्शी किन गर्दैन ? 

यो बाहिर त्यति थाहा नभएको मात्रै हो । यो पनि एउटा आरोप नै हो । नेपाल सरकारको अन्तर्राष्ट्रिय ऐन कानुन तथा संघ संस्थासँग सम्बन्धित ऐन छ, क्रिश्चियन संघसंस्थाहरु त्यो ऐन अनुसार नै सञ्चालन भइरहेका छन् । ती संस्थाहरुले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याएका छन् ।   

गुपचुपको कुरा केही छैन । समाज कल्याणबाट अनुमति लिएर काम गर्नुपर्छ सामाजिक काम गर्दा । हाम्रा संस्थाहरुले पनि यसरी नै काम गरिरहेका छन् । हामीले विदेशीको सहयोगमा धेरै वटा हस्पिटलहरु समेत सञ्चालनमा ल्याएका छौँ । त्यसलाई गुपचुप भन्न मिल्छ र ?   

हामीले समाज कल्याण परिषद, जिल्ला प्रशासन सबैलाई सम्पूर्ण फाइल नै बुझाउनुपर्छ ती सहयोग र कार्यहरुको । यहाँभन्दा पारदर्शी कस्तो हुन्छ ?   

यो संस्था स्थापनाको उद्देश्य के हो ? कहिले स्थापना भयो ?  

२०६४ मा यो संस्था स्थापना भएको हो । नेपाली क्रिश्चियन समुदायलाई स्वाभिमान र अधिकार सम्पन्न बन्न÷बनाउनको लागि यो संस्था स्थापना भएको हो । हामी चर्चहरुलाई निःशुल्क गुठीको व्यवस्था गराउँछौँ ।   

क्रिश्चियन समुदायको आवाज बोल्ने संस्था हो यो । हाम्रो संस्था डोनेसन ल्याउने संस्था होइन । हामी   

महासंघका मण्डलीहरुले हामीलाई भेटी दिन्छन् । महासंघको सदस्यमा शुल्क उठाउँछौँ । त्यस्तै नेपालबाट बाहिर भएका विभिन्न नेपाली भाषाकै चर्चहरु छन् । नेपाली मण्डली, उहाँहरुले पनि प्रार्थना    भेटी पठाउनु हुन्छ । हाम्रो स्रोत भनेको यही नै हो ।   

चर्च खोल्ने प्रावधान/प्रक्रिया कस्तो छ ?   

यो विषयमा नेपाल सरकारसँग राष्ट्रिय ख्रिष्टियन महासंघले लिखित रुपमा सहमति गरेको छ । र त्यो अहिलेसम्म चर्चलाई कुनैपनि देशमा वैधानिक रुपमा लिखित अनुमति लिने प्रचलन छैन । संस्थाहरुलाई मात्र यस्तो प्रचलन छ ।   

हामीले चर्चलाई धार्मिक हिसाबले गुठी बनाउन सरकासँग सहमति भइसकेको छ । अब चाहीँ हामी यसलाई अझै व्यवस्थित गर्दैछौँ ।   

तपाईँहरुले देशका विभिन्न ठाउँमा स्कूलहरु पनि सञ्चालन गर्दै आउनुभएको छ । यसको उद्देश्य शिक्षा फैलाउनु हो या धर्म विस्तार ?   

जिल्ला शिक्षा अन्तर्गत जिल्लाका विभिन्न प्याब्सन लगायतका ऐन कानुन मानेर, स्वीकृति लिएर स्कूल स्थापना गरिन्छ । यसको उद्देश्य भनेकै समाजलाई शिक्षा दिने, चेतनशिल बनाउने हो ।   

स्कूल जनुसुकै धर्मका मानिसहरुले खोल्छन् । स्कूलल भनेको विशुद्ध स्कूल नै हो । त्यहाँ धर्म प्रचार प्रसार गरिँदैन, मात्र शिक्षा दिइन्छ ।   

आज क्रिसमस कसरी मनाउँदै हुनुहुन्छ ?   

आज देशभरी नै विभिन्न कार्यक्रमहरु गर्दैछौँ । अहिले क्रिस्चियन समुदायमा मात्रै नभएर सबै खालका धार्मिक समुदायसँग शुभकामना आदानप्रदान गर्ने गरिन्छ । साथै उपहारहरु साट्ने पनि गरिन्छ ।  त्यस्तै आज कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा सरकारका विशिष्ट व्यक्तित्व, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहनेछ । प्रवचनहरु हुन्छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =