सिर्जना–सञ्जिताको यात्रा

माघ १८।  स्नातक तह पहिलो वर्ष अध्ययन गर्दै ताका आठ वर्षअघि हेटौँडाकी सिर्जना ओलीको हातमा एउटा ब्रोसर प¥यो । ब्रोसर थियो, सडकपेटीमा जीवन गुजारिहेका बेवारिसेहरुको उद्धार तथा सेवा-आश्रमसम्बन्धी जानकारी ।  

ब्रोसर पढेपछि उनिलाई आश्रम पुग्न हुटहुटी जाग्यो । “बिहान कलेज पढेर दिउँसो ममीसँग आश्रम पुगेँ, त्यहाँ बेसहारा बालबालिका, मनोरोगीको अवस्था देख्दा साह्रै मन छोयो”, आफ्नो समाजसेवाको यात्रा वृत्तान्तबारे उनले भनिन् , “त्यहाँको दयनीय अवस्था हेर्दा आफूले पनि केही गर्नुपर्छ भन्ने लाग्यो, समय निकालेर आश्रम जान थालेँ, आश्रममा भाइबहिनीलाई पढाउन शुरु गरेँ ।”   

त्यसयता सिर्जना अनेक अड्चनलाई पार गर्दै अविचलितरूपमा मावनसेवामा जुटिरहेकी छिन् । उनको समाजसेवाको यात्रा मुलुकका विभिन्न जिल्ला हुँदै कर्णालीसम्म आइपुगेको छ ।अहिले  सिर्जनाको साथी बनकी छिन्, काभे्रकी २२ वर्षीय सञ्जिता गौतम । सकारात्मक सोचका अभियन्ता एवं मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीको प्रशिक्षण लिएपछि उनिलाई मानव सेवामा सर्मपित हुन मन लाग्यो । सडक मानवको उद्धार गर्न, आश्रमको हेरचाहका लागि काभे्रदेखि सञ्जिता पनि हेटौँडा झरिन । 

null

 हेटौँडा उपमहानगरपालिका–४ मा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले मुलुकका विभिन्न शहर–बजारका सडकपेटीमा पेशेवर मगन्ते, मनोरोगी, अपाङ्गता भएका बेसहाराको खोजी एवं उद्धार गर्न थाल्यो । बेवारिसे, मनोरोगले थलिएर सडकमा बस्न बाध्यहरुलाई व्यवस्थित बसोबासको प्रबन्ध मिलाउन आश्रमले स्वयंसेवी अभियान सञ्चालन गरेको थियो । त्यही आश्रममा जोडिन पुगे, सिर्जना र सञ्जिता । आश्रमलाई मुट्ठीदान सङ्कलन गरेर सहयोग जुटाउनेदेखि आश्रितहरुको सरसफाइ गर्ने, बालबालिकालाई पढ्न–लेख्न सिकाउनेसम्मका काम उहाँहरुको जोडी गर्दै आयो । 

  

आश्रमले हेटौँडा आसपासका शहरहरुमा रहेकालाई उद्धार तथा व्यवस्थापछि चितवनमा शाखा खुल्यो । सिर्जनाकै नेतृत्वमा चितवनका सडकपेटीबाट बेवारिसेको उद्धार भयो । चितवन, काठमाडौँ, भक्तपुर, पोखरा, गोरखा, बाग्लुङ, कैलाली हुँदै सिर्जना–सञ्जिताको जोडी ठीक एक वर्षअघि कर्णाली उक्लियो । कर्णाली आउँदा कतै अभियानमा सहयोग नपाइने हो कि रु भन्ने चिन्ता रहेछ । “तत्कालीन मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका रामप्रसाद थपलिया कर्णाली प्रदेश सरकारका प्रमुख सचिव थिए, आश्रमलाई नजिकबाट नियालेको व्यक्तित्व भएकाले हामीलाई सहज भयो”, सिर्जना भन्छिन, “उहाँको समन्वयका कारण वीरेन्द्रनगर नगरपालिकाले भाडा तिर्ने गरी आश्रम सञ्चालन गर्ने घर पायौँ, नेपाली सेनाले सरसफाइ, रङरोगन गरिदियो ।” 

विसं २०७५ पुसको पहिलो साता वीरेन्द्रनगर–१२ नेवारस्थित आश्रममा सडकपेटीमा बस्दै आएका दुई आमाबुबालाई उद्धार गरेर अभियानको थालनी भयो । गत वर्ष आजकै दिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आश्रमको विधिवत उद्घाटन गरे। सिर्जना–सञ्जिताको नेतृत्वमा एक वर्षयता सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लाबाट १७० जनाको उद्धार गरिएको छ । तीमध्ये परिवार भएकालाई पुनर्मिलन गराइयो भने बाँकी ४४ जना आश्रममै छन् । “कतिले मरिसके भन्ने सोचेका हुँदारहेछन्, हामीले उद्धार गरेर घर फर्काउँदा खुशीयाली नै छाएको पायौँ”, सञ्जिताले भनिन् । 

पच्चीस वर्षीय सिर्जनाले व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । जागिर खाएर, घरपरिवार सम्हालेर बस्नुपर्ने समयमा उनि बेवारिसे सडक मानवको सेवामा दिनरात खटिरहेकी छिन् । “हाम्रो दैनिकी मुट्ठीदान जुटाउँदै बित्छ, आमाबुबाको दिसा धुनुपर्छ, हामीलाई कुनै हिनतावोध छैन, सबैभन्दा ठूलो धर्म नै मानवसेवा हो”, सिर्जनाले भनिन्, “मानव सेवामा सर्मपित हुन पाउँदा हामी खुशी छौँ ।” शुरुशुरुमा घरपरिवारबाट समेत उहाँहरुलाई साथ–सहयोग थिएन । के यस्तै गरेर जीवन चल्छ त रु बारम्बार सोधिरहने यस्तै प्रश्नले दिक्क बनाउँथ्यो । कतिपयले जागिर लगाइदिन्छु, के यस्तो काममा समय बिताउँछौं भन्थे । तैपनि, सिर्जना–सञ्जिताको यात्रा रोकिएन ।   

अचेल सिर्जना–सञ्जिता मानवता प्रर्वद्धन महाअभियान लिएर कर्णालीका स्कूल, कलेज, टोलटोलमा पुगेर प्रशिक्षण दिने गर्छिन् । आगामी २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडक मानवरहित मुलुक घोषणा गर्ने लक्ष्यअनुरुप सातै प्रदेशलाई केन्द्र बनाएर जिल्ला–जिल्लाबाट यो अभियान सञ्चालनमा छ । कर्णाली प्रदेश सरकारले पनि यही माघ ४ गते सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा गरिसकेको छ । कर्णाली, सहयोगापेक्षी सडक मानवरहित पहिलो प्रदेश बनेको छ ।   

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयदेखि स्थानीय तहसम्मले सडक मानव व्यवस्थापनका सवाललाई आफ्नो मुख्य प्राथमिकतामा समावेश गरेका छन् । कर्णालीका कुनै मानिस सडकमा पेशेवर मगन्ते, मनोरोगी अथवा अपाङ्गता भई बेवारिसे अवस्थामा फेला परे अब प्रहरीलाई फोन गरी उद्धारको व्यवस्था मिलाइएको छ । कर्णाली सरकारले सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा गरेर नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन टेवा पु¥याएको छ । प्रकाश अधिकारी, रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =