नाटकीय बिहे, हप्ता दिनमै डिभोर्स गरेर सम्पती माग्दै धम्की

काठमाडौं, ४ असार । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन् । बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन् । पाँच छ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलको माइती पक्षले अहिले डर र धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन् ।
‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा आफन्तबाटै अघि बढ्यो,’ काशीरामले भने, ‘तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सात आठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि सम्पत्ति र पैसाको बार्गेनिङ गर्न थालियो ।’ काशीराम २० वर्षदेखि हङकङ र बेलायतमा बस्दै आएका थिए । छोराछोरी पनि त्यतै हुर्काए । छोरा कृष्णप्रसाद हुर्किसकेकाले २०६९ सालमा नेपाल फर्केर बिहे गरिदिने निर्णय परिवारले ग-यो । आफू नेपालमा नबसेकाले काशीरामले आफन्तलाई बेहुली खोज्न लगाए ।
null
बेहुली खोजेर बिहेको साइत जुराइएपछि केटा पक्षकाले बिहेको भव्य तयारी थाल्यो । तामझामका साथ विवाह सम्पन्न भयो । तर बिहेको दुई चार दिनमै थाहा भयो, आफन्तले उनका छोराको जीवनमाथि ठूलो बज्रपात ल्याउनेगरी बेहुली खोजिदिएका रहेछन् । आफन्तकै सिफारिसमा २०६९ माघ २४ गते चितवन कालिकास्थानकी माया बरालसँग कृष्णप्रसादको पहिलो बिहे भएको थियो । तर उनीहरूको सम्बन्ध धेरै दिनसम्म टिकेन । आफन्तका माध्यमबाट खोजिएकी बेहुली मानसिक रोगी रहिछन् । बाध्यतावश सम्बन्ध–विच्छेद भयो । नागरिक दैनिकमा खबर छ ।








