सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा उच्च ओहोदाका व्यक्ति सहभागी छन् : डा. कोइराला

फागुन १०, नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा उच्च ओहोदाका व्यक्ति सहभागी देखिएको बताएका छन् । नेता कोइरालाले बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो स्विकार्य नभएको बताउँदै ‘सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सहभागी रहेकाहरुले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको बाटो खोलीदिनुपर्ने बताएका हुन् ।
उनले भने, बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो हामीलाई स्वीकार्य छैन, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका व्यक्तिहरु सहभागी हुनुहुन्छ भन्ने देखिन्छ। जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो।’
नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकनपछि शनिबार बिहान प्रेस युनियन बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सरकारमा रहेको व्यक्तिको संलग्नता रहनुले अब प्रधानमन्त्री ओलीलाई सरकार चलाउने नैतिकता नभएकाले राजीनामा दिनु पर्ने पनि बताए ।

कोइरालाले सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको बताएका छन्। उनले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुराको पुष्टि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेको स्पष्ट पारे ।
अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै कोइरालाले असन्तुष्टि जनाएका छन् ।








