एमाले र माओवादी केन्द्रबिचको एकता संकटमा, अब के हाेला ?

“
काठमाडौं, माघ २५ । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया जटिल बन्दै गएको खवर छ । एकता पछिको पार्टी नेतृत्वकोे विषयमै कुरा मिल्न नसकेपछि एकता प्रक्रियामा संकट देखा परेको छ ।
तत्काल औपचारिक रुपमा एकताको घोषणा गरि प्रक्रिया अघि बढाउने सहमती सहित सहमती गर्न एकता संयोजन समितीले दुवै दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएका थिए ।
पटक पटकको गोप्य वार्तामा समेत ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया जटिल अवस्थामा पुगेको बताइएको छ । प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचन, राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रदेश सरकार गठनसम्म तालमेल र भागबण्डा सहित अघि बढेका एमाले र माओवादी केन्द्रबीच एकता भने संकटमा देखिएको छ ।
यद्यपी नेताहरु यो विषयमा औपचारिक बोलिरहेका छैनन् । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल दुइ अध्यक्षकै व्यवस्थापन देखि नितिगत र वैचारिक कुरामा एकमत हुन नसकेको र एकता भाँडन शक्ति केन्द्रहरुले भरमग्दुर प्रयास गरिरहेको बताउनुहुन्छ ।
खासगरि माओवादी केन्द्रका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण पछि एमाले अध्यक्ष ओलीमा व्यापक परिवर्तन आएको आन्तरिक छलफलमा बताउँदै आएका छन् ।
केही दिन पहिला अध्यक्ष प्रचण्डले त सार्वजनिक रुपमा एकता भाँडन चाहाने शक्तिहरु पहिला आफुलाई दबाब दिन आएको र आफुले अडान लिएपछि ओलीलाई दबाब दिइरहेको बताउनुभएको थियो ।
एकता संयोजन समितीका रहनुभएका एमालेका वरिष्ठ नेता झलनाथ खनाल दुइ अध्यक्षबीच कुरा नमिलेर मात्र एकता प्रक्रिया नविथोलिने बताउनुहुन्छ । दुइ अध्यक्षलाई होमवर्क मात्रै गर्न दिइएको र उहाँहरुबीच नमिलेको कुरालाई पार्टी कमिटीले टुंगाउने उहाँको भनाई छ ।
ओली र प्रचण्डबीच कुरा मिल्न नसकेको कुरा बाहिरिएसँगै शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । खास गरि माओवादी केन्द्रको असन्तुष्टि बुझेसँगै एकता संयोजन समितीमा रहेका एमालेका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले खास कुरा बुझ्ने र सहमतीका लागि दबाब दिने रणनिती बनाएका छन् । एकता प्रक्रिया देखिएको जटिलता बारे अबको एकता संयोजन समितीको बैठकपछि औपचारिक धारणा बाहिर आउनेछ ।
“








