खैरहनीमा संविधान दिवस मनाईदैं

भाद्र २७, चितवन । चितवनको खैरहनी नगरपालिकाले राजनितिकहरु, विभिन्न संघसंस्था, विद्यालयहरुको सहभागीतामा संविधान दिवस मनाउने भएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको आह्वानमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले विभिन्न कार्यक्रम गरि असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले असोज २ गते देखी ४ गते सम्म नगर क्षेत्रका सवै सरकारी कार्यालय, क्याम्पस, सामुदायिक र संस्थागत विद्यालय, विभिन्न संघ-संस्था लगायत नगरवासीका घरघरमा साँझ दिपावली गर्न आह्वान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । असोज २ गते सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्राथना समयमा संविधान दिवसको महत्व, संविधानको मर्मका बारे प्रवचन गराउने, सरसफाई कार्यक्रम गर्ने, विद्यालयहरुले आ-आफुले वक्तृत्वकला, कविता र हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने, कक्षा ११ र १२ , स्नातक तह र स्नातकोत्तरका विद्यार्थीको सहभागीतामा अन्तर क्याम्पस वक्तृत्वकला प्रतियोगिता, प्रत्येक वडामा सरसफाई गर्ने, नगरपालिकाको मुख्य बजारक्षेत्रमा खैरहनी उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघ खैरहनी इकाईको संयोजकत्वमा सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

खैरहनी उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघ खैरहनी इकाईले संविधान दिवसको अवसरमा असोज २,३ र ४ गते उपभोग्य वस्तुहरुमा विषेश छुट दिन आ-आफ्ना सदस्य तथा उद्योगी व्यवसायीलाई आह्वान गर्ने निर्णय समेत भएको छ । संविधान दिवसको दिन असोज ३ गते राजनितिक दल, विभिन्न संघसंस्था, जनप्रतिनिधी, विद्यालय, टोल विकास संस्था, नागरिक समाजको उपस्थितीमा प्रभात फेरी निकाल्ने कार्यक्रम तय भएको छ ।
असोज ४ गते संविधान, राष्ट्रियता र लोकतन्त्र विषयमा प्रवचन कार्यक्रम डेजी वोडिङमा आयोजना गर्ने निर्णय वैठकले गरेको छ । नगरपालिकामा वसेको वैठकमा नेकपाका नेता झगरु चौधरी, नेपाली काँग्रेस नगर सभापती शशी कुमार खनियाँ, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधी, सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।









