माओवादी केन्द्रले केही दिनभित्रै मुख्यमन्त्री र सभामुख छान्ने

“
काठमाडौं, माघ १७ । नेकपा माओवादी केन्द्रले केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नं ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ ।
मुख्यमन्त्रीमा आकांक्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफल गरेर केन्द्रले आवश्यक निर्णय लिने प्रवक्ता पम्फा भुसालले बताउनुभयो । दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नं ६ र ७ मा साझा रुपमा मुख्यमन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति भएको जनाइएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको भुषालले जानकारी दिनुभयो ।
सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ । माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नं ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकांक्षी देखिनुभएको छ । यस्तै प्रदेश नं ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा हुनुहुन्छ ।
“








