रत्ननगर महोत्सव आउनेलाई जिप लाइनको व्यवस्था

पुस २१, चितवन । यही पुस २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०७६ का अवलोकनकर्ताहरुले जीपलाईनको मज्जा लिन पाउने भएका छन । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आर्कषण कार्यक्रमको रुपमा जीप लाइनको ब्यबस्था गर्न लागेको हो ।
दुई बर्ष अघिको महोत्सवमा धरहरा राखेर चर्चा कमाएको रत्ननगर महोत्सवले भर्खरै मात्र चर्चामा रहेको जीपलाईनलाई यस वर्षको महोत्सवमा राखिएको हो । रत्ननगर महोत्सवमा भ्रमण बर्ष २०२० लाई प्राथमिकता दिएका छौं संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले भने जीप लाईन सफारी पर्यटन प्रर्वधनको एउटा आधार हो ।
महोत्सवमा जीपलाईन सफारीको अलवा वन्यजन्तुको चित्र सहित सेल्फी डाँडा,पञ्चकन्या सामुदायिक वनमा जीप सफारी लगायतका कार्यक्रम समावेश गरिएको छ । महोत्सवको तयारी अन्तिम चरण पुगेको संयोजक रेग्मिले बताए ।

महोत्सवको पुस २५ गते सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको छ । उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्रा निकालिने छ । रत्ननगर महोत्सव २०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रर्वधन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ५०० वटा स्टल रहने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।
बिगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोल्ट्री विशेष तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको फेस्टिबल संयोजक ज्ञानबहादुर विसुरालले बताए ।








