बिरालो कालो सेतो जे भए पनि मुसा मार्नुपर्छः प्रचण्ड

पुस २५, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्ला राष्ट्रको केन्द्र बन्न सक्ने बताएका छन् । नारायणगढमा बुधबार आयोजित १२ औं चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चितवन सिंगै राष्ट्रको केन्द्र बन्न सक्छ, बन्नु पर्छ’ अध्यक्ष प्रचण्डले भने, ‘चितवन जिल्लाको विकास राष्ट्रको विकाससँग सम्बन्धित भएकोले निजी क्षेत्र र सार्वजनिक क्षेत्र मिलेर समृद्धिको यात्रामा देशलाई डोर्याउन आवश्यक छ ।’
null
पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनमा बाटो बनाउन, पर्यटनको विकास गर्न, रोजगारी सृजना गर्न, मेडिकल सिटी बनाउन केन्द्र सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले काम गर्नु पर्ने बताए । निजी क्षेत्रलाई उत्साहित नपारेसम्म संमृद्धिको सपना पूरा हुन नसक्ने बताउँदै उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको आवश्यकतामाथि जोड दिए ।
‘राजनीतिक द्वन्द्व र भ्रमको समापन भएको छ । राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको स्थापना भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ भनेपछि शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरेपछि विकासको मोडेलबारे समस्या बाँकी छैन । मिलेर विकासका लागि काम गर्दा समस्या आउँदैन ।’
चितवनलाई एकीकृतरुपमा छिटोभन्दा छिटो कसरी विकास गर्ने ? कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनको क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने विषय समेटेर समग्र चितवनको विकासका लागि गुरुयोजना आवश्यक रहेको उनको धारणा थियो । चितवन जिल्लालाई भौगोलिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले सिंगो राष्ट्रलाई दिशानिर्देश गर्न सक्ने हैसियत भएको भन्दै प्रचण्डले चितवनले एकतावद्ध भएर विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।
‘कृषिमा विश्वकै अब्बल देश इजरायल चितवनलाई कृषि क्षेत्रमा सहयोग गर्न तयार छ । प्रचण्डको बारेमा विश्वलाई विभिन्न कोणबाट जानकारी छ । चितवनको विकासमा विश्वका विभिन्न देशको सहयोग लिने अवसर छ हामीसँग । त्यो भूमिकामा तपाईं हामी छौं । राष्ट्रको निम्ति योगदान गरौं ।’
प्रचण्डले चीनका नेता तेङ स्यायो पिङले ‘बिरालोको मुख्य काम मुसा मार्ने हो, बिरालो कालो होस् वा सेतो केही फरक पर्दैन’ भनेको स्मरण गर्दै ‘विकासको सन्दर्भमा भनिएको यो भनाइको अर्थ विकास हुनु प¥यो, जसले गरेपनि हुन्छ भन्ने हो । विकास निजी क्षेत्रले गरेपनि हुन्छ, सार्वजनिक क्षेत्रले गरेपनि हुन्छ । हामीलाई पनि बिरालो सेतो होस् वा कालो केही मतलब छैन । हुनु प¥यो विकास ।’ भने ।
चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनको आर्थिक विकासमा चितवन महोत्सव सहयोगी हुँने बताउँदै अब चितवनको विकासको संभावनालाई कसैले रोक्न नसक्ने बताए । प्रदेश नम्बर ३ का वन तथा वातावरण मन्त्री अरुण नेपालले चितवन महोत्सव अन्य मेला महोत्सवभन्दा पृथक र व्यवस्थित पाएको बताउँदै यस पटक पर्यटनलाई प्राथमिकतामा राखी सोही बमोजिम कार्यक्रम समेटिएकोमा आयोजकलाई धन्यवाद दिए । चितवन विकासको प्रशस्त सम्भावना बोकेको जिल्ला भएको बताउँदै उनले प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र चितवनको गौरव र गरिमा समेटिएको चितवन महोत्सव भरतपुर महानगरपालिकाको पनि गरिमा झल्किएको बताइन् । यस्ता मेला र महोत्सवहरुले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याउन भूमिका खेल्ने, ज्ञान, सीप र प्रविधिको जानकारी आदानप्रदान गर्नुको साथै समग्र आर्थिक गतिविधिहरुको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाहालको भनाइ थियो ।
महानगरपालिकामा आफूले नेतृत्व सम्हालेसँगै महानगरीय रिङरोड र लिङ्करोडको काम भैरहेको बताउँदै दाहालले सिटी हल र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै शुरू हुने उनले बताइन् । महानगरवासीको पहिलो माग सडक कालोपत्रे रहेको बताउँदै मेयर दाहालले अबको ४ बर्षभित्र सबै सडकहरुको स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजनाका साथ काम भइरहेको जिकिर गरिन् ।
महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेकपाका नेता यमबहादुर परियार, नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठ लगायतले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटनपूर्व आयोजित शोभायात्राको गरिएको थियो । दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको चितवन महोत्सवको आयोजक उद्योग वाणिज्य संघ चितवन र सहआयोजक भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति रहेका छन् ।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी आयोजना हुने आयोजकको भनाइ छ । महोत्सवमा व्यावसायिक, कृषि प्रवद्र्धन, सूचना प्रविधि, हस्तकला, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स, सामाजिक संस्था लगायतका पाँच सय ७० वटा स्टल रहेका छन् ।
महोत्सवलाई थप आकर्षण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । यस स्टलमा नेपालमा उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । महोत्सवमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ ।








