राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजानिक, आयोगमा उजुरीको चाङ

काठमाडौं, पुस २६ । राष्ट्रिय सभाको निर्वाचन यहि माघ २४ गते प्रत्येक प्रदेशस्थित उच्च अदालत रहेको स्थानमा गरिने भएको छ । निर्वाचन आयोगले आज सार्वजानिक गरेको कार्यतालिका अनुसार २४ गते बिहान १० देखि दिउसो ३ बजेसम्म निर्वाचन हुने छ । कार्यतालिका अनुसार माघ ७ गते उम्मेद्वारी दर्ता हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन् । मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन ।


राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन ।

यसैबिच, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर आचारसंहिता उल्ल्घंनका घटनाका उजरी मध्ये ८१ वटाको कारबाही गरेको छ । आयोमा परेका १ सय १४ वटा उजुरी मध्ये बाँकी ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ वटा गाडी प्रयोग गरेको उजुरी परेको थियो । यस्तै कर्मचारीको सरुवा र काजसम्बन्धी ३१, विभिन्न निकायमा नयाँ कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन र करारमा भर्ना ११ र निर्वाचनमा खटिने कर्मचारीको पाँच वटा उजुरी आएको प्रवक्ता ढकालले बताए ।

यसैगरी विभिन्न समितिमा पदाधिकारी नियुक्ति र नगर तथा गाउँसभा सञ्चालनसम्बन्धी पाँच र मन्त्रिपरिषद् विस्तारसम्बन्धी एउटा उजुरी दर्ता भएको थियो । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत भदौ १४ देखि मंसिर २६ गतेसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =