एमालेको लालकिल्लामा कांग्रेसको अग्रता

धरान, १७ असार । नेकपा एमालेको गढका रुपमा हेरिएको सुनसरी जिल्लामा एमाले पछि परेको छ । पछिल्लो मत गणनाको नतिजाअनुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । भने, गाउँपालिकामा समेत नेपाली कांग्रेस अघि छ । भने, बराह, रामधुनी, इनरुवा नगरपालिकामा समेत नेपाली कांग्रेसले अग्रता लिएको छ ।
इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता लिएका छन् । भने, उनिहरुलाई एमालेका उम्मेद्वारले पछ्याईरहेका छन् । नेकपा (एमाले)का मेयरका उम्मेदवार द्वारिकलाल चौधरीले दुई हजार चार सय ९३ तथा उपप्रमुख उम्मेदवार लक्ष्मी गौतमले दुई हजार चार सय १३ मत प्राप्त गरेका छन् । इटहरी–१ मा काँग्रेसका विष्णु चौधरीको समूहले विजय प्राप्त गरिसकेको छ ।
यसैगरी धरानमा प्रमुख उम्मेदवार तिलक राईले एक हजार आठ सय ३९ र उपप्रमुखका उम्मेदवार श्यामा रेग्मीले एक हजार आठ सय २९ मत प्राप्त गरी अग्रता लिएका छन् । उनीहरुलाई एमालेका उम्मेदवार तारा सुब्बाले एक हजार पाँच सय ६६ र उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले एक हजार छ सय ६३ मत ल्याई काँग्रेसलाई पछ्याइरहेका छन् । यस अघि धरान–१ बाट काँग्रेसका रोशन अधिकारी र २ बाट माधवगोविन्द श्रेष्ठको प्यानल नै विजयी भएको छ । अधिकारीले १०२९ मत ल्याउँदा निकटम प्रतिद्धन्द्धी भरत सुवेदीले ५४२ मत प्राप्त गरे । महिला सदस्य ९६०, दलित महिला सदस्य ९८५, खुल्ला सदस्य ७०७ र आरक्षित सदस्य ७३४ मत ल्याउँदै प्यानलै विजयी बनेको हो ।
त्यस्तै वडा नं.२ बाट श्रेष्ठले निकटतम प्रतिद्धन्द्धी मुकुल कायस्थलाई ५३ मत अन्तरले पराजित गरे । श्रेष्ठले ४९३ मत ल्याउँदा कायस्थले ४४० मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका रमेश राईले ४ सय मत प्राप्त गरि तेस्रो स्थानमा चित्त बुझाए ।
श्रेष्ठ प्यानलको महिला सदस्यले ६०५, दलित महिला सदस्यले ६२६, खुल्ला सदस्यले ६०२ र अर्का सदस्यले ६०१ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

नेकपा एमालेले ०५४ सालको स्थानीय निकायको निर्वाचन, दोस्रो संविधानसभा निर्वाचनमा इटहरी र धरानमा बर्चस्व कायम गरेको थियो । पहिलो संविधान सभामा धरानमा तत्कालिन नेकपा माओवादी विजयी हुँदा एमालेले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।
धरानमा अहिलेसम्म नेपाली कांग्रेसले जित्न सकेको छैन । धरानको प्रारम्भिक नतिजाले कांग्रेसमा खुशीयाली छाएको छ । यहि अग्रता कायम रहे कांग्रेसले एक हजार देखि १५ सयको मतान्तरले विजय हासिल गर्ने एक कांग्रेस कार्यकर्ताले बताए ।
त्यस्तै दुहवी नगरपालिकामामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले दुई हजार चार सय ९८ र उपप्रमुखका उम्मेद वार सुनिता दाहाल शाहले दुई हजार चार सय ५२ मतसहित अग्रता कायम गरिरहेका छन् । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार विनय पोख्रेलले दुई हजार दुई सय ३४ र उपप्रमुखका उम्मेदवार चन्द्रकला विश्वासले दुई हजार चार सय ५७ मत ल्याएकी छिन् । दुहवी –१२ बाट भने काँग्रेसका खुसीलाल चौधरीले वडाध्यक्षसहित सबै सदस्य पदमा विजय प्राप्त गरेका छन् । दुहवी नगरपालिकामा नेपाली कांग्रेस कमजोर देखिएको छ ।
त्यस्तै रामधुनी नगरपालिकामा पनि काँग्रेसका प्रमुख जयप्रकाश चौधरीले दुई हजार ७२ र उपप्रमुख विजया कटवालले एक हजार पाँच सय तथा एमालेका नन्दकुमार बस्नेतले एक हजार दुई सय ७० र उपप्रमुख सविना चौधरीले एक हजार पाँच सय २१ मत ल्याउनुभएको छ । रामधुनी नगरपालिका–१ बाट काँग्रेसका महेश चौधरीले वडाध्यक्षसहित सबै पदमा विजय प्राप्त गरिसकेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
बराह र इनरुवा नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद गुरागाईंले जानकारी दिए । गाउँ पालिकाको मतगणनाको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेको बताइएको छ । कतिपय निर्वाचन अधिकृतले सूचना दिने कार्यमा कन्जुस्याइँ गरिरहेको प्रति गुनासो बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले समेत सूचना नपाएको निर्वाचन अधिकृत जानकी कर्णले गुनासो गरे ।  तस्विरहरुः फेसबुक पेजबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *