कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ : डा. खड्का

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।   

खडकाले पार्टीका आगामी चूनौती पार गर्नको लागि एकल सभापतिले जतिसुकै बहुमत ल्याएर विजयी भएपनि एक्लैले केही गर्न नसक्ने ठोकुवा गरे । उनले भने,‘एकल सभापतिले जति धेरै बहुमत ल्याएर जितेपनि, अर्थात दुई तिहाईको बहुमत ल्याएपनि केही हुँदैन् ।’ उनले पार्टी बहुअध्यक्षीय प्रणालीमा गएमात्रै गुट समाप्त हुने विश्वास दिलाए ।   

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलिक बढिनै छताछुल्ल भएको तर्क गरे ।   

null

नेता खड्काले भने,‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढि नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ । कम्युनिष्ट पार्टीमा चाहीँ अनुशासन हुन्छ । र, अर्को कुरा त्यहाँ लठ्ठी पनि देखाईन्छ ।’   

उनले पार्टीको आगामी १४औं महाधिवेशनमा एकल नेतृत्वमा जो आएपनि अहिले देखिएको पार्टीभित्रका समस्या हल नहुने जिकिर गरे । उनले भने,‘पार्टीको नेतृत्वको लागि अहिले साथीहरुले आफ्नो महत्वकांक्षा देखाउनुभएको छ, कसैको धाप होला र आडमा पनि होला, तर नेतृत्वमा एक्लै जो आएपनि केही हुनेवाला छैन् । पार्टी अब बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ भन्ने मेरो धारणा हो । यसबारेमा मेरो कन्सेप्ट पनि छ ।’ 

यस्तै, उनले पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टीम बनाउनुपर्ने तर्क गरे । उनले भने,‘पार्टीलाई सामूहिक लिडरसिपमा लैजानुपर्छ, चार÷पाँच जनाको कोर टिम बनाउनुपर्छ, अर्थात चेयरम्यानसिप वा प्रेसिडियममा जानुपर्छ ।’ उनले नीतिभन्दा पनि अहिले गुटहरुको स्वार्थले पार्टी चलाउने हौवा चलिरहेको बताए ।   

यस्तै नेता खड्काले वर्तमान सरकारले एमसीसी संसदमा टेबलु गरे आफ्नो पार्टीले पारित गर्नको लागि समर्थन गर्नेसोत बताए ।   

उनले भने,‘शेरबहादुर देउवाजी प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री भएको बेलामा समझदारीमा हस्ताक्षर भएको हो । यो सदनबाट अनुमोदन हुनुपर्छ भनिएको छ । पोहोर भदौमै पारित भैसक्नुपर्ने थियो । तर, भएन । वर्तमान प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीले त जसरीपनि पारित हुन्छ भनेर बोल्नुभएको थियो । तर, नेकपाभित्रै फेरि एमसीसीसम्बन्धी कार्यदल बन्यो । त्यो कार्यदलले प्रारम्भिक रिपोर्ट दिएको छ भन्ने सुन्नमा आएको छ ।’ खड्काले नेकपाको कार्यदलले एमसीसीसम्बन्धी तयार पारेको भित्री रिपोर्टमा के छ ? भन्ने कुरा थाहा भएपछि थप टिप्पणी गर्न सकिने बताए ।   

उनले अमेरिकी सेना नेपाल आउने भनेर नेपालमा भएको हल्लामा सत्यता नभएकोसमेत दाबी गरे । 

नेता खड्काले विश्वभरि कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास फैलिएकोले नेपालले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिए । कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव परेको उनको भनाई छ ।   

कोरोनाकै कारण नेपालमा अहिले ठूलो सन्त्रास फैलिएको र मुल्यवृद्धि हुन थालेको टिप्पणी गर्दै टेस्टिङ किट्स, मास्क, क्वारेन्टाईन, औषधीको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा पनि ठूलो संकट पर्ने सम्भावना रहेको भन्दै सरकार कानमा तेल हालेर सुतेर बसेको समेत आरोप लगाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =