प्रेमिका भेट्न गएका युवककाे यसरी भयाे हत्या !

माघ २६, रौतहट । रौतहटमा एक युवकको हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।   

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको हत्याको आरोपमा राजपुर नगरपालिका–६ कुडियाका २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली पक्राउ परेका हुन् ।  

हत्यामा संलग्न सोही ठाउँका ३१ वर्षीय असरफ अली भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । महमदको हत्यामा संलग्न उनीहरु ती युवककै प्रेमिकाका दाजुभाईहरु भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।  

माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदी–भिजानुलाई भेट्न मोतिपुर गएका उनी सम्पर्कविहिन भएपछि भोलिपल्ट बिहान खोजतलासका क्रममा उनको शव फेला परेको थियो । उनको शव राजपुर नगरपालिका–७ अकोलवा गाउँछेउको भकुवा नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुखएसपी रवीराज खड्काले बताए ।  

कसरी भयो हत्या ?  

एहतेसामुलले गत १५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई भेट्न बोलाए । राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा उनीहरुको भेट भयो ।  

ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखे । त्यसपछि युवती घरतिर भागिन्, युवक पनि आफ्नो घरतिर भागे ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिई घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेका थिए । 

पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको उनले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =