राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान……

असोज २७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो । 

आइतबार स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा केही बेर टक्क अडिए । नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको थियो । उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए । 

त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर आफ्नो बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधि रमाउँदै उनले केही बेर भलाकुसारीसमेत गरे । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर ‘नेपाल भ्रमण गर्नुभएकामा यहाँलाई धेरैधेरै धन्यवाद’ भन्दै भेट्न पाएकामा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उनले बालबालिकालाई धन्यवाद फर्काएका थिए । 

विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सीले बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा अवलोकन गरे ।   

एक बालिका भिन्तुना श्रेष्ठले चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रिभोजका क्रममा उनले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।   

त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ ।   

राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिवादन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो । सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर ‘बाईबाई’ गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =