नेपाल कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै (LIVE)

काठमाडौं, ११ साउन । आईसीसी टी २० विश्वकपको एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल नेपाली समयअनुसार सवा ७ बजेदेखि सुरु हुनेछ । शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ ।यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ । हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेट खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा रहेका छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ । नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी २० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।








