कप्तान पारसको शानदार अर्धशतक, कुवेत ७ विकेटले पराजित

काठमाडौं, ११ साउन । आइसिसी टी २० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ । यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ । सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ । जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ । अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो । नेपालको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङमा पारसले ६८ रन जोडे । यसअघि मलेसियाविरुद्धको खेल चोटका कारण गुमाएका पारस उत्कष्ट लयमा देखिएका थिए । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । पारसको यो टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक हो । त्यसअघि पारसका ओपनिङ पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बनाए ।दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट भए । शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे । शरदले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिए । त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड । अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए । बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =