यो वर्ष कतिले बढ्यो महंगी

“
असाेज ६, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले महंगी नियन्त्रणमा सफलता पाएको छ । गत वर्षको साउनमा ८.६ प्रतिशतले बढेको महंगी यो वर्षकाे साउन महिनासम्म २.३ प्रतिशतले मात्रै बढेको छ । एक वर्षको अवधिमा राष्ट्र बैङ्कले महंगीको दर घटाउन सफल भएको हो । राष्ट्र बैङ्कको मुख्य उद्देश्य महंगी नियन्त्रण थियाे । यो वर्ष राष्ट्र बैङ्कले ७ प्रतिशतभन्दा बढी महंगी हुन नदिने लक्ष्य राखेको छ ।
आज राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक स्थिति नामक साउन महिनाको आर्थिक अवस्था सार्वजानिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार साउन महिनामा समग्र खाद्य बस्तुको मूल्य वृद्धिदर १ प्रतिशतले ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा यो दर ९.३ प्रतिशतले बढेको थियो ।
‘दालहन, गेडागुडी, तरकारी, फलफुल, मसलाको मूल्य वृद्धि दर गत वर्षको भन्दा उच्चले घटेपछि खाद्य बस्तुको मूल्य वृद्धि पनि घट्न गएको हो,’ प्रतिवेदनमा भनिएको छ । त्यसै गरी, साउन महिनामा यता, जुता, लत्ता कपडा, घरायसी सामान लगायत गैर खाद्य बस्तुमा ४.९ प्रतिशतले महंगी बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहका वस्तुहरूको महंगी ८.१ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैङ्कका अनुसार उपभोग्य सामानमा काठमाडौँमा सबैभन्दा कम महंगी भएको छ । साउनमा काठमाडौँमा १.३ प्रतिशतले मात्रै महंगी बढेको छ । पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत र हिमालमा सबैभन्दा बढी ५.६ प्रतिशतले महंगी बढेको राष्ट्र बैङ्कले जनाएको छ । त्यसै गरी, गैरखाद्य वस्तुहरूको महंगी ४.९ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहको महंगी ८.१ प्रतिशतले बढेको थियो ।
यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर-खाद्य मुद्रास्फीति कम रहन गएको हो । गत वर्षको तुलनामा भन्दा यो वर्ष भारतमा कम महंगी भएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र कूल आयातमध्ये दुईतिहाई आयात भारतबाटै हुने भएकाले भारतमा महंगी घटबढ हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन्छ ।
“








