टी-ट्वान्टी क्रिकेटमा सन्दीपको ५० विकेट पूरा

चैत २४, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।
भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको चौंथो खेलमा मोइन अलीको विकेट लिदैँ सन्दीपले ५० विकेट पुरा गरेका हुन् ।
null
गत सिजन आइपीएल खेल्दै विश्वभर टी-ट्वान्टी फ्रेन्चाइज्ड लिग खेल्न थालेका सन्दीपले विभिन्न लिग खेल्दै टी २० फम्र्याटमा ५० विकेट लिएका हुन्।
यस सिजन आईपीएलमा चार खेल खेलेका सन्दीपले अहिलेसम्म ५ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि खेलिरहेका सन्दीप बैँगलोर विरुद्ध भने महँगा सावित भए। उनले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिन सके । गत सिजन दिल्लीका लागि ३ खेल खेलेका सन्दीपले ५ विकेट लिएका थिए ।
सन्दीपले २०१८ मा आइपीएलमा बैँगलोर विरुद्ध नै खेल्दै टी २० क्रिकेटमा डेब्यु गरेका थिए र त्यस खेलमा १ विकेट समेत लिएका थिए। सन्दीपले आइपीएलमा मात्रै १० विकेट लिएका छन्।
आईपीएलपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी–ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग खेलेका थिए।
पहिलो पटक खेलेको अष्ट्रेलियाको बिग बास लिग र पाकिस्तानको पाकिस्तान सुपर लिगमा सन्दीपले ११–११ विकेट लिएका थिए ।
यस्तै क्यारेवियन सुपर लिगमा ७ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए। पहिलो पटक आयोजना भएको अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले २ विकेट लिएका थिए।








