प्रधानमन्त्री ओली नभएको मौकामा प्रचण्डको सक्रियता

काठमाडौं, २३ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । दाहालले तीन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ । पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनुभएको छ ।’ दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झन्डै तीन घन्टा खुमलटारमा छलफल गरे । दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृश्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ ।
null
दाहालसँग भेटेका खनालले पनि केन्द्रीय नेताहरूको कार्यविभाजन र बाँकी एकता प्रक्रियामा केन्द्रित रहेर छलफल भएको बताए । ‘एकता प्रक्रिया टुंग्याउन अब ढिला गर्नु हुँदैन । त्यसलाई के कसरी सचिवालय बैठकबाटै टुंग्याउने भन्नेमा छलफल भयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘एकता प्रक्रिया टुंगो लगाएर देशव्यापी राष्ट्रिय अभियान चलाउनुपर्छ भन्नेमा उहाँ देखिनुहुन्छ । मेरो पनि त्यही चिन्ता छ ।’
प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै २८ साउनमा नेकपा सचिवालय बैठक बस्दैछ । साउन १३ मा उक्त बैठक बस्ने मिति तय गरेर दाहाल र ओली विदेश दौडाहामा लागेका थिए । नेकपामा केन्द्रीय नेताहरूको विभागीय जिम्मेवारीलगायतका एकतासँग सम्बन्धित कार्य टुंग्याउन बाँकी छ । दाहालले सोमबार अर्का वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । उनले प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरिसकेका छन् ।
सचिवालयमा रहेका नेताहरू कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग भने दाहालले भेट गरेका छैनन् । महासचिव पौडेलसँग दाहालले नेताहरूको कार्यविभाजन र रुचिका विषयमा भएको प्रगति विवरणबारे टेलिफोनमा जानकारी लिएको स्रोतले बतायो । दाहालले यसबीचमा स्थायी समिति सदस्यहरू जर्नादन शर्मा, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली लगायत नेतालाई आफ्नै निवासमा बोलाई छलफल गरिसकेका छन् ।
दैनिकजसो खुमलटार पुग्ने वामदेव गौतम यसपटक भने दाहाल यूएईबाट फर्केपछि पुगेका छैनन् । गौतमले पछिल्लोपटक पार्टीको राजनीतिक कार्यक्रम ‘जनताको जनवाद’ कार्यक्रम नै नभएको तर मदन भण्डारीको बहुदलीय जनवाद मार्क्सवाद, लेनिनवादजस्तै सिद्धान्तकै रूपमा विकास गरेर जानुपर्ने मतसहितको लेख लेखेपछि दाहाल गौतमसँग झस्किएका छन् । पार्टी संगठन विभाग र कास्कीको उपचुनावमा समेत प्रधानमन्त्री ओलीले ‘धाप’ दिएपछि गौतम ओली ‘क्याम्प’ मै फर्किन खोजेको चर्चा नेकपाभित्र हुन थालेको छ ।








