आफैंले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले मागे शिक्षामन्त्रीको राजीनामा

असोज २, काठमाडौं । बढि लिएको शुल्क फिर्ता नदिएको भन्दै पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि उनीहरु आन्दोलनमा पुनः उत्रिएका हुन् । 

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले छ दिनदेखि कलेजको पढाइ ठप्प गर्दै आन्दोलन गर्दै आइरहेका छन् । हिजो बुधबार विद्यार्थीहरुले कलेज प्रशन विरुद्ध प्रदर्शन गर्दै आफ्नै निर्देशन कार्यानन्वय नगराएको भन्दै शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको समेत राजिनामा मागेका छन् । हिजो शिक्षा मन्त्रीको राजीनामा लगायतका माग लेखिएका प्ले–कार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।   

कलेजले लिने अवैधानिक शुल्क विरुद्ध गएको माघमा पनि गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले आन्दोलन गरेपछि शिक्षामन्त्रीले विद्यार्थीबाट बढि लिएको शुल्क फिर्ता गर्न कलेजहरुलाई निर्देशन दिएका थिए । मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको भएपनि निजी मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिइरहेका छन् । उनीहरुले भर्ना हुने बेलामा विद्यार्थीलाई चेपुवामा पारेर एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाउने गरेको भएपनि कतैबाट निगरानी भएको छैन ।   

आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परिक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्ट्रेसन शुल्क पाँच सय रुपैयाँ मात्र लिन पाउने सार्वजनिक सुचना नै जारी गरेपनि त्यो अर्थहिन भएको छ । त्यस्तै विद्यार्थी होस्टलमा भर्ना भए खाना र बसेको शुल्क मात्र कलेजले लिन पाउने भनिएपनि निजी कलेजहरुले विभिन्न वहानामा चर्को शुल्क उठाइरहेका छन् ।   

गण्डकी मेडिकल कलेजका विद्यार्थीले गएको माघ महिना देखि बढि लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेपनि कलेजले टेरपुच्छर लगाएको छैन ।   

विद्यार्थीहरुले लगातार ५४ दिनसम्म आन्दोलन गर्दै एमबिबिएसका तेस्रो वर्षका विद्यार्थीले परीक्षा नै बहिस्कार समेत गरेपछि सरकारले मेडिकल कलेज सञ्चालक, विद्यार्थीलाइ राखेर मन्त्रालयमा वार्ता भयो । उक्त वार्तामा मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दीन अन्सारी, चितवन मेडिकल केलजका सञ्चालक हरिशचन्द्र न्यौपानेलगायत प्रतिनिधिहरूले शिक्षा मन्त्रालयले गर्ने निर्णय आफूहरूलाई मान्य हुने बताएर निस्किएपनि निर्णय कार्यान्वयन गरेनन् । 

शिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निजी मेडिकल कलेजहरूलाई विद्यार्थीबाट तोकेभन्दा उठाएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएपनि ४ महिना वितिसक्दा विद्यार्थीले शुल्क फिर्ता पाउन सकेका छैनन् ।   

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिललाई लेखेको पत्रमा नेपाल सरकारबाट तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलगायत कलेजहरूले सम्बन्धित विद्यार्थीहरूलाई एक महिनाभित्र शुल्क फिर्ता गर्ने, विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने भनिएपनि कुनैपनि कुरा कार्यान्वयन भएनन् । 

त्यसपछि विद्यार्थीहरु बढि लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । चितवन स्थित चितवन मेडिकल कलेजका विद्यार्थीहरु प्रर्दशनमा उत्रँदा कलेज प्रशासनले प्रहरी परिचालन गरेर विद्यार्थी माथि धरपकड समेत गर्यो । चितवन मेडिकल कलेजका विद्यार्थी पनि दुई सातादेखि आन्दोलनमा छन् । पढाई ठप्प छ । 

शिक्षा मन्त्रालयले आफैंले दिएको निर्देशन पालना गराउन चासो नदेखाएपछि विद्यार्थीहरुले शिक्षामन्त्री पोखरेलको नै राजीनामा माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =