बाबु दिर्घराेगी, आमालाई प्यारालाइसिसः १५ वर्षिय किशाेरीलाई ७ जनाकाे परिवार पाल्ने चिन्ता

- भरतराज शर्मा (गाेपाल)
धरान । भानुचौकबाट लगभग ६ किलोमिटरको दुरी पार गरेपछि धरानकै सुकुम्बासी कस्तीको एउटा गाँउ देउरालीको वेलकम चोक आउँछ । त्यहाँ पैदल जान करिब एक घण्टा र सबारी साधनको माध्यमबाट जान करिब आधा घण्टा लाग्छ । बेलकम चोकमा स्वागत लेखिएकाे स्वागतद्धार छ । त्यसकै दक्षिणतर्फकाे एउटा सानो घर जुन टिनको छानो र सिमेन्टको गारो लगाई बनाईएको छ । सोही घरमा भाडा लिएर बस्ने गर्छिन एक १५ बर्षिया । उनी हुन् सरु श्रेष्ठ ।
धरान-५ स्थित बिच देउरालीकी १५ वर्षिया किशाेरी सरु श्रेष्ठलाई ७ जनाको परिबार पाल्नुकाे पिडा छ । परिवारमा रहेका सबै सदस्यहरू विरामी रहेकाले कलिलै उमेरमा आर्थिक बोझ आईपरेपछि सरुले आफनो पढाईलाई समेत बिचैमा छाडेर कमाउन विवस भएकी छिन् ।
उनीसँग कुनै सीप छैन तरपनि, परीवार पाल्ने चिन्ताले उनलाई कलिलो उमेरमा लेवर काम गर्नुपर्ने बाध्यता छ । उनी ढुङगा, माटो,गिट्टि बालुवा बोक्ले जस्ता दैनिक ज्यालादारीकाे काम गरेर परीवार पाल्ने गर्दछिन् । सरूले दैनिक ज्यालादारीकै काम गरेर ७ जनाको परिवार जसाेतसाे पाल्दै छिन् । ‘अरू काम जानेकि छैन, घरका सबै विरामी छन् । उनीहरूलाइ खुवाउन भएपनि ज्यालादारीकाे काम गर्छु ।’ उनी भन्छिन् ।
७ जनाको परिवारमध्ये उनका बुवा, आमा र जेठी दिदी बिरामी छन् । सरूका बुवा फोक्सोको बिरामी भई दिर्घरोगी छन । आमा अर्ध प्यारालाईसिस छिन् । ठुली दिदी सुजाताको जन्मजात नै दाहिने हात चल्दैन । बाँकी सानो भाई र बहिनी भर्खर १० र ११ वर्षका भए । सरुले जसोतसो भाई र बहिनीलाई सरकारी स्कुल पनि पठाउँदै आएकी छिन् ।
घरकाे नाजुक अवस्थाले पढाइलाई विचमै त्यागेकी सरूमा पढ्नुपर्छ भन्ने चेत रहेछ । त्यहि भएर उनले आफुले पढ्न नपाएपनि भाई र बहिनीलाई भने पढाउने काेशिष गर्दैछिन् । घरको आर्थिक अवस्था नाजुक हुनु र घरमुलीहरू नै विरामीले थलिएपछि सरूले हिमाली माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दापढ्दै घर ब्यवहार संहाल्न पुगेकी हुन् ।
सरु काममा नगए उनको बिरामी बुवाको औषधी किन्न र घरको चुल्हो बाल्न नै गाह्रो हुन्छ । ’पढ्ने रहर त कहाँ नभएकाे हाेर तर, बुवा आमा नै सिकिस्त भएपछि बिद्यालय जान पाइन ।’ उनी भन्छिन् । सरु यति अनुशासित छिन कि उनी हरेक काम समयमा नै गर्छिन । विहान सबैरै उठ्नु, बाबा आमालाई खाजापानी दिनु, औषधी खुवाउनु उनकाे दैनिकी हाे । त्यसपछि मात्र उनी घर धन्धाकाे काम सकाएर दैनिक ज्यालादारीमा निस्कन्छिन् ।
दैनिक ज्यालामजदुरी गरेर ७ जनाकाे जीवन चलाइरहेकी सरूलाई काेराेना महामारीका कारण सृजित लकडाउनले भने भाेकै मरिन्छ कि भन्ने चिन्ता थपिएकाे छ । किनभने लकडाउनका कारण उनले गर्ने दैनिक ज्यालादारीकाे काम पनि बन्द भएकाे छ । ‘यतिखेर कोरोनाले गर्दा कुनै काम चलेकाे छैन । बुवा आमा र दिदी साना भाईबहिनीहरूकाे ज्यान बचाउनकै लागि भएपनि साहु महाजान, ठेकेदारकाे काममा जाने गरेकी छु । त्याे पनि सधै नहुँदा विहान खाएर बेलुका के खाने चिन्ता पर्याे ।’ उनी भन्छिन् ।

सरुलाई काेराेनाले भन्दा पहिला भाेकमरीले परीवारै सकिन्छ कि भन्ने चिन्ता छ । ‘कोरोना लागेर मरिन्छ भन्ने चिन्ता छैन । चिन्ता त मेराे परिवारले खानै नपाएर मर्छकी भन्ने छ ।’ उनले परिवारमा जस्ताे सुकै विपत्ति आएपनि बुवा आमा भाइबहिनीलाई पाल्न सक्छु भन्ने हिम्मत भएकाे बताइन् ।
काम नगर्दा घरको चुल्हो नै नबल्ने अनि बिरामी बुवाको औषधी किन्ने पैसा समेत नहुने भएपछि कोरोना संक्रमणको बेलामा पनि उनी आफनो ज्यानको जोखिम मोलेरै दैनिक ज्यालादारीकाे काममा हिँड्ने गरेकी छिन् । उनी अहिले ईटा बालुवा बोक्ने लेबर काम गर्छिन् । घर निर्माण हुँदा गिट्टी, बालुवा र ईट्टा बोक्ने काम गर्छिन् । यी काम गरे वापत उनले हप्तामा २५ सय देखि ३ हजार रुपैया कमाउँछिन् र, त्यहि कमाईले सरूकाे घरपरिवार चलेकाे छ । बुवा आमाकाे दवाइ किन्न पाएकी छिन् । ७ जनाकाे परीवार चलाउन पाएकी छिन् ।
सरुको घरमा माईली दिदी थिईन कमाउने, उनीपनि ६ महिना अघि भागि विवाह गरेर गएपछि राेगी बुवा आमाकाे स्याहार सुसार गर्ने, एउटी दिदी र दुइ भाइ वहिनीकाे पालन पाेषण गर्ने जिम्मेवारी उनकाे काँधमा परेकाे हाे ।
सरुका अनुसार उनका ५१ वर्षिय बुवा धनबहादुर श्रेष्ठ फोक्सोको बिरामी भएकाले ७ वर्षदेखि ओछ्यानको ओछ्यानमै छन् । बुवा धनबहादुर श्रेष्ठ ७ वर्षअघि धरान ८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको प्रिति भल्भमा लेवर काम गर्थे । एकदिन कामकै सिलसिलामा बिरामी परे । अनि उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्दा थाहा भाे उनकाे त निमोनिया विग्रि सकेछ ।
धरानमा उपचार हुन नसकेपछि हाल बस्दै आएकाे घरका सुर्दशन श्रेष्ठले छिमेकीको सहयोगमा चन्दा उठाएर काठमाडाैं स्थित मनमोहन मेमोरियल अस्पतालमा थप उपचार गर्न लगिएको थियाे । ‘निमाेनिया त निकाे भयाे तर बाँचुञ्जेल औषधीको सहारा लिनु पर्याे ।’ आमा चन्द्रमायाले बताईन् । अहिले धनबहादुरले हप्तामा १५ सय रुपैयाँको औषधी खानुपर्ने हुन्छ । धनबहादुरलाई बेलाबेलामा वीपी प्रतिष्ठानमा उपचारका लागि समेत लैजानु पर्छ ।
४८ वर्षिया चन्द्रमाया श्रेष्ठ पनि खोलामा गिटी कुट्ने काम गर्थिन् । ३ वर्षअघि चन्द्रमायाको दाहिने पट्टिको कम्मरमा एक्कासी प्यारालाईसिस भएपछि उनी पनि थला परिन् । केही सहयोगीदाताहरुको सहयोगमा आयुर्वे्दिक औषधीबाट उपचार गरेकी चन्द्रमाया अहिले सामान्य हिँडडुल गर्न बाहेक केहि गर्न सक्दिनन् । साईली छोरी सरुले सानै उमेरमा घरको आर्थिक बोझ सम्हाल्नु पर्दाकाे पीडा आमाले देखेकी छिन् । ‘पिडा पनि हामी गरीबलाई नै हुनुपर्ने, गरीबलाई त भगवान पनि हेर्दा रहेनछन् ।’ उनले गहभरी आँशु पार्दै भनिन ।
कलिलै उमेरमा छोरीलाई काममा पठाउँदा बालश्रम हुन्छ भन्ने कुरा थाह छ चन्द्रमायालाई । ‘तर के गर्नु नानी घरको आर्थिक अवस्था नै नाजुक भएपछि ।’ उनी छाेरीले भाेग्नु परेकाे दुखः कष्ट सम्झँनै रून थाल्छिन् ।
यतिबेला देउरालीको सुकुम्बासी बस्तीमा स–परिवार डेरा गरी बस्दै आएकी सरुलाई ६ जना परिवार पाल्नुकाे साथै बुवाको औषधी खर्च समेत जुटाउनुपर्ने जिम्मेवारी छ । तर, समाजमा गरिब दुःखीहरूकाे सेवा गर्न भनेर खाेलिएका संघ संस्थाहरूलाई भने सरू जस्ता पिडित परिवारलाई सहयाेग गर्ने र संरक्षण गर्ने तर्फ कहिल्लै साेच पलाएन । उनीहरूकाे साेच दुःखी गरिबकाे नाममा कसरी हुन्छ राज्यबाट र विदेशी दाताहरूबाट लाखाैं कराेडाैं सहयाेग जुटाएर ब्यक्तिगत सम्पत्ति आर्जन गर्ने तर्फमात्र छ ।
सरुको परिवारमा आईपरेको यो पीडामा सहयोगी हातहरुको साथ पाए सरुले शिक्षाको ज्योतिबाट टाढा हुनुपर्दैन थियाे । समाजमा भएका मनकारीहरुले श्रेष्ठ परिवारलाई कुनै सहयाेग गर्न चाहेकाे खण्डमा मोवाईल नम्बर ९८११३४३३८३ र ९८५२०५६५२३ मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।








