स्वास्थ्यमन्त्री ढकाल शुक्रबारदेखि होम क्वारेण्टाइनमा

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होमक्वारेन्टाइनमा बसेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका र कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि उनी होम क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् । ‘उहाँको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न जानुभएको थियो, संक्रमित बिरामी भेटेको थाहा पाएपछि मन्त्री आफैं सतर्क भएर क्वारेण्टाइनमा बस्नुभएको हो’ मन्त्रालय स्रोतले भन्यो । उनी ५ दिनदेखि मन्त्रालय पनि नआएको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज मात्रै) लिइएको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको बताइएको छ । रिपोर्ट साँझसम्म आउने पनि स्रोतले जानकारी दिएको छ । मन्त्री ढकाल मंगलबार दिउँसो भने मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *