बाहिरी जिल्लाबाट चितवन भित्रिने बढे, खैरहनी नगरपालिकाद्वारा क्वारेनटाइन विस्तारमा जोड

चितवन। चितवनको खैरहनी नगरपालिकाले क्वारेनटाइन विस्तार गरेको छ। बाहिरी जिल्लाबाट मानिसहरू आउने क्रम बढेपछि नगरको सबै क्षेत्रलाई समेटेर क्वारेनटाइन विस्तार गरिएको हो। यसअघि निर्माण गरिएको क्वारेनटाइन भने प्रयोग विहीन भएको थियो।

बाहिरबाट आए लगत्तै परिवारमा घुलमिल हुने हुँदा उनीहरू होम क्वारेनटाइनमै बसेका थिए। तर अव बाहिर जिल्ला वा छिमेकी राष्ट्र वा अन्य मुलुकबाट आउनेहरूलाई राख्नका लागि नगर भित्र रहेका ६ वटा माध्यमिक विद्यालयलाई क्वारेनटाइन बनाउन लागिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए।

खैरहनी १ मा कंकाली मावि, खैरहनी २ मा जनजीवन मावि, खैरहनी ६ को खैरहनी मावि, खैरहनी १० को कठार मावि, खैरहनी १२ को कपिया मावि र खैरहनी १३ का गवै मावि छन्। खानेपानी, बिजुली लगायत भौतिक संरचना मजबुत हुनुका साथै कम्पाउण्ड समेत रहेकाले ती विद्यालयलाई पहिलो चरणमा छानिएको नगर प्रमुख चौधरीले बताए। ती मध्ये केही विद्यालयले क्वारेनटाइन निर्माण गरिसकेका छन्।

ती विद्यालयमा तत्कालका लागि १५ बेडको क्वारेनटाइन बन्ने छ। रातको समयमा मान्छेहरू बाहिर जिल्लाबाट आउने क्रम बढ्न थाल्यो नगर प्रमुख चौधरीले भने, ‘उनीहरू घरमा प्रवेश गर्नु अघि नै क्वारेनटाइनमा राखिने छ।’ त्यसका लागि टोल विकास संस्थाले समन्वयकारी भूमिका खेल्नु पर्ने उनले बताए। अहिले निर्माण गरिने क्वारेनटाइन आफ्नै ठाउँमा हुने हुँदा बस्न सहज हुनुका साथै व्यवस्थापनमा पनि सजिलो हुने नगर प्रमुख चौधरीको भनाई छ।

बाहिरबाट आउँदै गरेको जानकारी सम्बन्धित नगरका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, स्वास्थ्य शाखालाई गराउन समेत नगरपालिकाले आग्रह गरिसकेको छ। क्वारेनटाइनका लागि आवश्यक सम्पूर्ण सामान नगरपालिकाले व्यवस्था गर्नेछ। यसअघि डिज्नी रिसोर्ट पार्क र सैनिक आवासीय महाविद्यालयमा तयारी अवस्थामा रहेको क्वारेनटाइन आवश्यकता अनुसार प्रयोगमा ल्याइने नगरपालिका उपप्रमुख सुनिता थपलियाले बताइन्।

क्वारेनटाइन व्यवस्थापन गर्न समिति

नगरपालिकाले नगर भित्र निर्माण गरिएको क्वारेनटाइन व्यवस्थापन गर्न नगर प्रमुख लालमणि चौधरीको संयोजकत्वमा एक समिति निर्माण गरेको छ। सम्बन्धित विद्यालय रहेका वडाका वडाध्यक्षहरू सहितको बैठकले नगर उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, वडाध्यक्षहरू भूमि प्रसाद कडेंल, टिकादत्त इटनी, रामशरण पाण्डे, कारीराम चौधरी, टिकाराम तिमल्सीना, वालकुमार उप्रेती, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, प्रशासकीय अधिकृत दामोदर अधिकारी र प्रेस संयोजक ध्रुवराज खनाल सदस्य रहने समिति गठन गरेको हो।

यस्तै समिति सम्बन्धित वडाका वडाध्यक्षहरूको संयोजकत्वका पनि गठन हुनेछ। बैठकले बाहिर देश र बाहिर जिल्लाबाट आएकाहरू मानिसहरूलाई घर परिवार र समुदायमा समाहित हुनु भन्दा अघि नै क्वारेनटाइनमा राख्न आवश्यक सहयोग सहजीकरणको लागि टोल विकास संस्था तथा जनप्रतिनिधिहरूलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए। बैठकले क्वारेनटाइन व्यवस्थापन गर्नका लागि लाग्ने खर्च नगरपालिकाले भुक्तानी गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fourteen =