धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोनाबाटै मृत्यु भएको पुष्टि भएको छैन

काठमाडौं । काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी २९ वर्षिय सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भइसकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा उपचाररत २९ वर्षिय सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको यकिन भइनसकेको बताए । उनले मृत्यु भएकी महिलाको अवस्था, उनमा लागेको रोग तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्टलाई हेरेर थप अनुसन्धान गरेर मात्र कोरोनाका कारण मृत्यु भएको नभएको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयको नियमित लाईभमा बोल्दै डा. देवकोटाले अहिले नै कोरोनाबाट मृत्यु भएको भन्न नमिल्ने समेत बताए । ‘उहाँका बारेमा थप अनुसन्धान पछि मात्र आधिकारिक जानकारी दिइनेछ ।’ उनले भने ।

स्वासप्रस्वासमा समस्या भएपछि विहिबार धुलिखेल अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको थियो ।

शुक्रबार साँझ श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा खोज्दै उनको निधन भएको थियो । उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने कोशिष गरेपनि सफल हुन सकेनन् ।

श्वास फेर्न गाह्रो भएपछि कोरोनाको आशंका गर्दै उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै आरडिटी र पीसीआर दुवै परीक्षण गरिएकोमा दुवैमा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालले उक्त रिपोर्ट सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । त्यसपछि मन्त्रालयले ती महिलाको स्वाब पुनः मगाएर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन ।

अहिले धुलिखेल अस्पताल शिल गरीएको छ । अस्पतालका आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ ।

त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ । अस्पतालको पाँच सय मिटरको दुरीमा कसैलाई प्रवेश गर्न दिइएको छैन ।

यता आज मात्रै नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको बताएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये २२४ पुरुष र ५४ महिला रहेका छन् । कोरोना संक्रमण पछि निको हुनेहरुको संख्या ३६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =