धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटनाग्रस्त भएको ट्रकमा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको हो ।

दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

आगलागीमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक राई ट्रकबाट बाहिर निस्कन सफल भए पनि शरीरमा लागेको गम्भीर आगोका कारण उनको ज्यान जोगिन सकेन ।

दुर्घटनामा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सहचालक सञ्जीव सङ्ग्रौला भने सकुशल रहेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएपछि ट्रक दुर्घटनाग्रस्त भई आगलागी भएको देखिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =