यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न एक महिने बारिष्टा तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमन्ड सोसाइटी (बीडिएस) को समन्वयमा बारिष्टा तालिम दिइएको हो ।
सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर एक महिने तालिमको समापन समेत गरिएको छ । तामिलमा सहभागीहरुलाई एक कार्यक्रमका बिच एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडी, ब्लु डायमन्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङ र अध्यक्ष उमेश पाण्डे (उमेशा)ले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडीले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमअन्तर्गत कम्तीमा ४० प्रतिशत सहभागिता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिश्चित गर्ने नीति लिएको जानकारी दिए । यसअघि पनि यस समुदायका लागि नेपालमै पहिलो पटक ट्रेकिङ गाइड तालिम सञ्चालन गरिएको स्मरण गराउँदै उनले अहिले बारिष्टासँगै स्पा तथा मसाजसम्बन्धी तालिम पनि सञ्चालन गरिएको बताए ।
उनका अनुसार तालिमपछि रोजगारीसँग जोड्ने, सामूहिक रूपमा स्पा सेन्टर स्थापना गर्ने तथा पर्यटन क्षेत्रका विभिन्न सेवा प्रदायकसँग समन्वय गरी रोजगारीका अवसर विस्तार गर्ने योजना अघि बढाइएको छ । सहभागीलाई आफैँ पनि सक्रिय भएर होटल, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा रोजगारी खोज्न उनले आग्रह गरे ।
ब्लु डायमन्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङले सीप नै व्यक्तिको सबैभन्दा ठुलो सम्पत्ति भएको उल्लेख गर्दै अधिकारको सुनिश्चिततासँगै आर्थिक रूपमा सक्षम हुन व्यावसायिक सीप अपरिहार्य रहेको बताइन् ।
उनले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउन पर्यटन, निजी क्षेत्र तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा बीडिएसले निरन्तर काम गरिरहेको जानकारी दिइन् । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएमात्र समावेशी वातावरण निर्माण हुने र समुदायका अधिकार थप सशक्त बन्ने उल्लेख गरिन।
ब्लु डायमन्ड सोसाईटीका अध्यक्ष उमेश पाण्डे (उमेशा) ले सीप सिकेर मात्रै नहुने उल्लेख गर्दै तालिममा सहभागीहरुलाई सीपको सदुपयोग गर्न आग्रह गरे । उनले लक्ष्यमा पुग्नको लागि संघर्ष गर्नुपर्ने बताए । उनले आफूले सिकेको सीपको सही सदुपयोग गरे नेपालको पर्यटन क्षेत्रमा योगदान दिन सकिने बताए ।
सीप भएर मात्रै नहुने बताउँदै उनले रोजगारीको सिर्जना पनि कहिलेकहीँ आफैँले गर्नुपर्नेमा जोड दिए । बीडिएसले पनि समुदायको लागि रोजगारी सिर्जना गर्न पहल गरिरहेको उनको भनाई छ । तालिममा सहभागी श्याम ढकाल, मौसमी गुरुङ, एञ्जल थापा र कल्पना थापाले तालिमबाट आफूहरूमा व्यावसायिक ज्ञान र आत्मविश्वास दुवै बढेको बताए ।
उनीहरुले अब पर्यटन क्षेत्रमा रोजगारी गर्ने तथा भविष्यमा आफ्नै कफी सप सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनीहरूले भविष्यमा आफ्नै व्यवसायमार्फत समुदायका अन्य सदस्यलाई समेत रोजगारी दिने योजना रहेको सुनाए । तालिममा ३२ जना सहभागी थिए । सहभागीहरुलाई टिटुङ क्याफेले बारिष्टासम्बन्धी तालिम दिएको थियो ।








