काश्मीरमा वर्षाजन्य विपद्: १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी

एजेन्सी । भारत प्रशासित काश्मीरमा पछिल्लो दुई दिनदेखि जारी अविरल वर्षा र त्यसपछिका विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
अधिकारीहरूका अनुसार सोमबार डोडा जिल्लामा ढुङ्गा खस्दा र आकस्मिक बाढीमा परी थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो ।
यसअघि आइतबार काश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट दक्षिण–पश्चिममा अवस्थित सीमावर्ती जिल्लाहरू पुन्च र राजौरीमा बाढी र पहिरोले व्यापक जनधनको क्षति पुर्याएको थियो । ती क्षेत्रमा आइतबार १२ जनाको मृत्यु भएको थियो भने सात जना अझै बेपत्ता छन् ।
अविरल वर्षाका कारण राजौरीका होचा भूभागहरू डुबानमा परेका छन् भने दर्जनौं सवारी साधन बाढीले बगाएको छ । यस्तै, पुन्च जिल्लामा वर्षासँगै खसेको पहिरोले आवासीय घरहरूमा ठूलो क्षति पुर्याएको छ ।
सोमबार बिहानैदेखि पुनः सुरु भएको वर्षाका कारण पुन्च र राजौरी जिल्लामा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य प्रभावित भएको छ । मध्याह्नसम्म जारी वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार टोलीलाई परिचालन गर्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।
भारत मौसम विज्ञान विभागले आगामी बिहीबारसम्म यस क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्वसाधारणका लागि चेतावनी जारी गरेको छ । नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्र नजिक नजान तथा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।








