अण्डाको मूल्य बढ्यो, अझै किसानले पाएनन् लागत मूल्य

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ ।

मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए ।

दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ ।

प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए । मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताउँछन् ।

बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =