नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

काठमाडौं । मुलुकभर सक्रिय रहेको मनसुनका कारण विगत २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार साउन १ गते बिहान १० बजेदेखि २ गते बिहान १० बजेसम्म १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ । पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको छ । यसै अवधिमा पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्, जसमा ६ जना घाइते भएका छन् ।

त्यस्तै, आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन् । विपद्का कारण पछिल्लो २४ घण्टामा अनुमानित १८ लाख ५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । वर्षा र पहिरोका कारण मुलुकका ६ वटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । विपद् प्रतिकार्य तथा अवरुद्ध सडक खुलाउनका लागि नेपाल प्रहरीका १५१ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

वैशाख यताको अवस्थाः सर्पदंश र चट्याङबाट बढी मानवीय क्षति

चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठुलो मानवीय क्षति भएको देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको छ । हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ । वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन् । यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन् ।

त्यस्तै ४ हजार ५ सय ५ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावित छन् । सर्पदंशबाट ५ सय ३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार, जनावर आक्रमणबाट २ सय ९६ परिवार प्रभावित छन् ।

सार्वजनिक सुरक्षा तथा उच्च सतर्कताको अपिल

विपद्को जोखिम बढ्दै गएपछि प्राधिकरणले सर्वसाधारणका लागि विशेष सुरक्षा निर्देशिका जारी गरेको छ । यात्रामा निस्कनुअघि सडक विभाग वा स्थानीय प्रहरीसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराई तथा भित्री मधेसमा सर्पदंशको जोखिम उच्च रहेकाले घर वरपरको सरसफाईमा ध्यान दिन, राति हिँड्दा टर्च लाइटको प्रयोग गर्न र सर्पले टोकेमा ढिलाइ नगरी तुरुन्त उपचार केन्द्र लैजान सूचित गरिएको छ । नदी र खोलामा जलस्तर बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा आउने एसएमएस अलर्ट र बाढी पूर्वानुमान बुलेटिन नियमित रूपमा हेर्न अनुरोध गरिएको छ ।

नदीमा माछा मार्ने वा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्य नगर्न समेत भनिएको छ । चट्याङ पर्ने सम्भावना देखिएमा खुला ठाउँमा नबस्न र विद्युतीय उपकरणहरूको प्रयोग बन्द गर्न प्राधिकरणले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =