फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा मंगलवार भएका दुईवटा विस्फोटमा परी १८ जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयकाअनुसार घाइते हुनेहरूमध्ये चार जना प्रहरी अधिकारी रहेका छन् ।
विस्फोट राजधानीको फोर सिजन्स होटल नजिकै रहेको पर्यटन मन्त्रालयको कार्यालय आसपास भएको जनाइएको छ । गृह मन्त्रालयले उक्त विस्फोट राष्ट्रपति म्याक्रोँको निवासका लागि तोकिएको सुरक्षा घेराबाहिर भएको स्पष्ट पारेको छ ।
यस घटनाबाट राष्ट्रपतिको भ्रमण र सुरक्षामा कुनै प्रत्यक्ष खतरा उत्पन्न नभएको र औपचारिक भ्रमणका कार्यक्रमहरू पूर्वनिर्धारित तालिका अनुसार नै जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
विस्फोटको खबर सार्वजनिक भएको केही समय लगतै सिरियाली राष्ट्रपति अहमद अल–शराले ‘पिपल्स प्यालेस’मा राष्ट्रपति म्याक्रोँलाई स्वागत गरेको राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिरियाली समाचार निकाय (साना) का अनुसार सुरक्षा बलले ती स्थानमा दुईवटा विस्फोटक उपकरणहरू फेला पारेका थिए । ती उपकरणहरूलाई निष्क्रिय पार्ने प्रक्रिया शुरु भइरहेका बेला विस्फोट भएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रारम्भिक अनुसन्धानकाअनुसार उक्त घरेलु विस्फोटक उपकरणहरू (आईईडी) एउटा पार्क गरिएको सवारी साधन र सडक किनारको फोहोर फाल्ने कन्टेनरभित्र राखिएका थिए ।
घटनापछि सुरक्षा निकायले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा घेराबन्दी गरेको छ। विशेषज्ञ टोलीहरूले सो क्षेत्रमा थप सुरक्षा अपरेसन र खानतलासी जारी राखेको मन्त्रालयले जनाएको छ ।








