मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

लमजुङ । डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

वि.सं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक वि.सं २०४६ मा खुलेको थियो भने वि.सं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो ।

डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन ।

उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभाबी निर्माण सामग्री, थन्काएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरूले थप कठिनाइ व्यहोर्नु परेको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यो सडकका कारण व्यहोर्नु परेको कष्ट कहालिलाग्दो भएको यहाँका स्थानीयले व्यापक गुनासो गर्ने गरेका छन् ।

पछिल्लो पटक जनताको हारगुहारपछि भने डुम्रे–बेँसीसहर–चामे सडक तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागर खण्डको करिब आठ दशमलव नौ किलोमिटर दुई लेनमा विस्तार भइरहेको छ ।

‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,’ यात्रु सरिता गुरुङले बताइन् । ‘वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,’ सवारी चालक नारायण घिमिरेले भने ।

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौंसँग वि.सं २०८२ जेठमा कार्यसम्पन्न गर्ने गरी सम्झौता भएको बताए । दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल्सम्म काम सकिएको छैन ।

सडकको निर्माण लागत रु ७२ करोड रहेको छ । निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो । यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =