सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरूलाई प्रहरीले रोक्यो

काठमाडौँ । माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले बाटोमा नै रोकेको छ ।
लामो समयदेखि माइतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरू बिहीबार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरूलाई प्रहरीले बीच बाटोबाट नै फर्काइदिएको हो । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न दबाब दिन उनीहरूले सिंहदरबार घेराउको रणनीति बनाएका थिए ।
सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै ११ दिनदेखि धर्ना दिइरहेका छन् ।
सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेसा निर्बाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।
माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृष्टिविहीन साधन सुब्बाले बताए । उनले बुधवार नेकपा एमालेको पार्टी कार्यालय अगाडी धर्ना दिएको पनि जानकारी दिए । आफूहरूको मागमा एमालेले ऐक्यवद्धता जनाएपनि धर्ना सहज रूपमा गर्न नदिएको उनको गुनासो छ ।
उनले एमालेको पार्टी कार्यालयमा दिएको धर्ना भने सफल भएको बताए । एमालेले आफूहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।








