निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन् ।
कञ्चनपुर प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।
भण्डारीलाई निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा भएको अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो । उक्त फैसला न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासबाट भएको थियो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशन गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा तथा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार किरण बिष्टले भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भन्दै घरबाट निस्किएकी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाको निम्बुखेडा खोला किनारस्थित उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । बहुचर्चित उक्त घटनाका वास्तविक आरोपी हालसम्म पहिचान हुन सकेका छैनन् ।








