हेलमेटबिना बुलेट चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर काटियो चीट

काठमाडौं । हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।
मुख्यमन्त्री निवास परिसरभित्र हेलमेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना चुलिएको थियो ।
आलोचनापछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर शाहलाई कारबाहीस्वरूप चीट काटेको हो । उनलाई थमाइएको चीटमा ‘हेलमेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र त्यसपछि १ हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नै टिकटक खाताबाट शाहले हेलमेटबिना बुलेट चलाएको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मुख्यमन्त्रीको व्यवहारलाई लिएर व्यापक टिप्पणी भएको थियो ।
यस्तै, केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ भने मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि त्यसले थप चर्चा र प्रश्नसमेत जन्माएको छ ।








