पोखरामा २१औँ असारे रोपाइँ महोत्सव सम्पन्न

काठमाडौँ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार २१ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरास्थित शिशुवा देउरालीखोलामा यो महोत्सव आयोजना गरिएको हो ।

करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको खेतमा आयोजित उक्त महोत्सवमा स्थानीय कृषक, पर्यटन व्यवसायी तथा आन्तरिक र बाह्य पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो । खेतीयोग्य जमिनको संरक्षण, कृषिको व्यवसायीकरण र परम्परागत कृषि प्रणालीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परिषद्ले वि।सं। २०६१ सालदेखि यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ ।

महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा मौलिक प्रतियोगिताहरू समेत सञ्चालन गरिएका थिए । जसमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतिस्पर्धा, हिलोमा माछा समात्ने र दौड प्रतियोगिता समावेश थिए । कार्यक्रममा सहभागी करिब २ सय विदेशी पर्यटकहरूले नेपाली मौलिक संस्कृतिमा रमाउँदै हिलो छ्यापाछ्याप गरेर उत्सव मनाएका थिए ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले नेपाल सबै मौसममा भ्रमणका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले बढ्दो शहरीकरणका कारण सहरिया नयाँ पुस्तालाई खेती प्रणाली र कृषिको महत्त्वबारे जानकारी दिलाउन पनि यो कार्यक्रम फलदायी रहेको बताए ।

बढ्दो प्लटिङ र कंक्रिट संरचनाका कारण पछिल्लो समय महोत्सवका लागि उपयुक्त खुल्ला जमिन पाउन कठिन हुँदै गएको चुनौतीका बीच आयोजित यस कार्यक्रमले कृषिको परम्परालाई जीवन्त राख्ने प्रयास गरेको छ । महोत्सव स्थलमा सहभागीहरू तस्बिर र भिडियो खिच्न व्यस्त देखिन्थे भने आसपासका खेतमा कृषकहरू आफ्नो नियमित कार्यमा तल्लीन रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =