आन्दोलनरत विद्यार्थीलाई दुर्व्यवहार र गालीगलौज नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन गर्न हतार नगरिएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले कक्षा १२ को नतिजा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन् ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।’

उनले सो विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति सम्मान व्यक्त गरेको बताएका छन् । लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्ने भन्दै सञ्जालमा विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =