पाकिस्तानी सेना प्रमुख र इरानी राष्ट्रपतिबीच क्षेत्रीय शान्ति र सुरक्षाबारे छलफल

एजेन्सी । पाकिस्तानका थल सेना प्रमुख जनरल सैयद असिम मुनिर र पाकिस्तान भ्रमणमा रहेका इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच मंगलवार उच्चस्तरीय भेटवार्ता भएको छ ।

भेटघाटका क्रममा उनीहरूबीच क्षेत्रीय विकास तथा शान्ति र स्थिरता प्रवद्र्धनका लागि जारी प्रयासका विषयमा गहन छलफल भएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार दुवै पक्षले वर्तमान क्षेत्रीय परिस्थिति, तनाव न्यूनीकरणका पहल र वार्तालाई प्रोत्साहन गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।

भेटका क्रममा राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय तनाव कम गर्न र वार्ताको वातावरण निर्माण गर्न पाकिस्तानले निर्वाह गरेको रचनात्मक एवं जिम्मेवार भूमिकाको प्रशंसा गरे ।

बढ्दो भू–राजनीतिक चुनौतीहरूका बीच विवादहरूको शान्तिपूर्ण समाधान र क्षेत्रीय सरोकारवालाहरूबीच समझदारी कायम गर्न इस्लामावादले गर्दै आएको निरन्तर प्रयासको उनले उच्च कदर गरे ।

सो अवसरमा सेना प्रमुख मुनिरले क्षेत्रीय शान्ति र स्थिरताप्रति पाकिस्तानको अटल प्रतिबद्धता दोहोर्याए । उनले विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न कुटनीतिक संलग्नता र वार्ता नै उत्तम विकल्प भएको कुरामा जोड दिए ।

दुवै पक्षले पाकिस्तान र इरानबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र साझा हितका विषयमा निकट रहेर परामर्श जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीय शान्ति, समृद्धि र स्थिरताको साझा लक्ष्य प्राप्तिका लागि दुई देशबीचको सहकार्यलाई निरन्तरता दिने उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =