अत्याधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।
भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।
कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ ।









