अङ्किता भट्टराईले जितिन ‘वेबसाइट निर्माण प्रतियोगिता सिजन ८’ को उपाधि

काठमाडौँ। क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जितेकी छन्। काठमाडौँमा शनिवार सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरबाट सहभागी ३११ विद्यार्थीहरूलाई पछि पार्दै भट्टराई प्रथम भएकी हुन्। प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार द्वितीय र अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तृतीय भएकी छन्।

देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ विद्यार्थीहरूबिच कडा प्रतिस्पर्धाका बिच टप २०, टप १० हुँदै अन्तिममा उत्कृष्ट तीन विद्यार्थीहरूलाई विजेता घोषणा गरिएको थियो। विजेताहरूलाई एक लाख रुपैयाँ बराबरको ल्यापटप लगायतका अत्याधुनिक उपकरण तथा विशेष पुरस्कारहरू प्रदान गरिएको थियो। यसका साथै टप २०, टप १० र टप ३ मा पर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई विशेष गिफ्ट ह्याम्परद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सूचना प्रविधि महासङ्घ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विजेताहरूलाई बधाई दिँदै विद्यार्थीहरूको प्राविधिक कौशलको प्रशंसा गरे। उनले भने, “डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण जग बसाल्ने गर्दछन्। आजका यी विद्यार्थीहरूले प्रदर्शन गरेको वेबसाइट निर्माणको सीप र तार्किक क्षमताले सूचना प्रविधिको क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको पुष्टि गर्छ। लाइफ कम्प्युटरको यो प्रयास प्रशंसनीय छ।”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =